तिलक कोइराला ।

नेपालको सेयर बजारमा हल्ला र लहै लहैको भरमा कुद्ने सर्वसाधारण लगानीकर्ताहरुलाई उक्साउने, तर्साउने, भगाउने र अन्योलमा पार्ने कृयाकलापहरु बारम्बार भई नै रहेका छन् । कहिले नेप्से २५०० पुग्छ भनेर उक्साईन्छ त कहिले फेरि २९२ कै अंकमा झर्छ भनेर हदैसम्म निराश बनाईन्छ । आम सर्वसाधारण लगानीकर्ताहरु जबसम्म आफैले कम्पनीको आधारभुत विश्लेषण गरेर सुरक्षित लगानी गर्न समर्थ हुँदैनन्, तबसम्म यस्ता कृयाकलापहरु चलि नै रहने छन् र भाग्ने भगाउनेहरुको बोलावाला भई नै रहन्छ ।

नेपालको पूँजी बजारमा धेरै कुराहरु सकारात्मक बन्दै जाँदा बेला बेलामा आतंकका नयाँ औजारहरु प्रयोगमा ल्याईन्छन् । दुई बर्ष पहिले भौतिक सेयर प्रमाणपत्रलाई अभौतिक गराउँदा पनि त्यस्तै आतंक सिर्जना गर्ने प्रयास गरिएको थियो । सेयर प्रमाण पत्र नै नभए पछि लगानी गरेको पैसाको प्रमाण कसरी राख्ने ? धितो कसरी राख्ने ? जस्ता अन्योल सिर्जना गरेर सर्बसाधारण लगानीकर्तालाई भौतिक प्रमाणपत्रमा रहेको सेयरलाई सस्तोमा बेच्न बाध्य पारियो र पछि अभौतिक भएपछि सेयरको मूल्य बढेर पहिले भौतिक प्रमाणपत्रमा सेयर बेचेकाहरु नराम्ररी ठगिए । अरु कयौं पटक यस्ता अफवाहहरु फैलाएर सर्वसाधारण लगानीकर्ताहरुलाई त्रसित बनाउने गतिबिधिहरु भएकै छन् ।

अहिले फेरि ब्यक्तिगत करदाता नम्बर (प्यान) अनिबार्य हुने भयो भनेर आतंकको नयाँ श्रृंखला तयार पार्न खोजिएको छ । प्यान कार्ड आतंक सर्बसाधारण लगानीकर्तालाई तर्साउने नयाँ संस्करण बाहेक अरु केही हुँदै हैन । म यो कुरा निश्चित गरेर भन्दैछु ।

ब्यक्तिगत करदाता नम्बर भनेको आय गर्ने प्राकृतिक ब्यक्तिलाई कर कार्यालयहरुले दिने बिशेष पहिचान नम्बर हो । एउटा ब्यक्तिको लागि जीवनमा एउटा मात्र ब्यक्तिगत करादाता नम्बर दिईने गरिन्छ । त्यो ब्यक्तिले फर्म वा कम्पनी स्थापना गरेमा फर्म वा कम्पनीको नाममा करदाता नम्बर लिनुपर्छ, यो अलग पाटो हो ।

सेयर बजारमा प्यान अनिबार्य भयो भने यो आम सर्बसाधारण लगानीकर्ताकै हितमा हुनेछ ।

कसरी ?

धेरै लगानीकर्तालाई अहिले भ्रममा पार्न खोजिएको छ कि प्यान लिएपछि सरकारलाई कर तिर्नुपर्छ, सरकारले कर असुल्छ, त्यसलै घाटा हुन्छ । यो हुँदै हैन ।

अहिले सेयर बजारका लगानीकर्ताले सेयर दलाललाई कमिशन बाहेक सेयर बेच्दा नाफा भएको अबस्थामा पाँच प्रतिशत पूँजीगत लाभकर तिर्दै आईरहेका छन् । बैंकमा खोलिएको बैंक खातामा पैसा राख्दा आर्जन भएको ब्याजमा पनि ब्याज कर तिर्दै आएका छन् । सेयर बेचेर फाईदा भएको अबस्थामा मात्र फाईदा भएको रकममा पाँच प्रतिशत पूँजीगत लाभकर लाग्ने हो, घाटा भएको अबस्थामा तिर्नु पर्दैन ।

सेयर लगानीकर्ता करमा दर्ता भई प्यान लिएपछि यस्तो हुनेछ फाईदा

लगानीकर्ताले अहिले तिरिरहेको करको रेकर्ड नै प्यान कार्ड लिएपछि ब्यवस्थित हुने हो । अहिले कुनै सेयर दलालबाट सेयर बेचेर पूँजीगत लाभ लिएको वा फाईदा भएको भनेर प्रमाणित गराउनु पर्यो भने कागजी प्रमाण जुटाएर सेयर दलालको कार्यालयमा निबेदन दिनुपर्ने, उसले दुई, चार दिन लगाएर दिने चिठ्ठी बोकेर स्टक एक्सचेन्जको कार्यालय धाउनु पर्ने, त्यहाँ पनि दुई, चार दिनको झंझट सकेर आन्तरिक राजश्व बिभाग वा कर करदाता सेवा कार्यालय धाई १०, १५ दिनमा बल्ल आफुले बैधानिक रुपमा कमाएको पैसाको प्रमाण जुटाउन सकिने अबस्था छ । तर ब्यक्तिगत करदाता नम्बर लिएर सम्बन्धित कार्यालयहरुमा त्यसको नम्बर पेश गरी कारोबार गरेपछि यसरी धाएर दुख गर्नुपर्ने झंझट समाप्त हुन्छ । कर कार्यालयको वेभसाईटमा आफ्नो प्यान नम्बर टाईप गरेर खोजी गरेपछि सबै प्रमाणहरु एक क्लिकमै कम्प्युटरको स्क्रिनमा देख्न सकिन्छ, आबश्यक परेको बेला त्यसलाई ईमेल गर्न, कागजमा प्रिन्ट गर्न वा कम्प्युटरमा सुरक्षित गर्न सकिन्छ । कसैले कहाँबाट कमाईस भनेर सोध्यो भने सेयर बजारमा कारोबार गरेर कमाएको भनेर बकाईदाले प्रमाण पेश गर्न सकिन्छ । बैंकको बचत खाताबाट आर्जन भएको ब्याजमा कर कट्टी भएको रकम पनि यसैमा आउँछ । अहिले जस्तो बैंक, सेयर दलालको कार्यालय, नेप्सेको कार्यालय, कर कार्यालय धाएर कयौं दिनसम्म सास्ती खेप्नै पर्दैन । फरक यत्ति हो पहिले सेयर दलालको करदाता नम्बरबाट कर तिरेको रेकर्ड कर कार्यालयमा जान्थ्यो, लगानीकर्ताको करदाता नम्बर भएपछि लगानीकर्ताको नम्बरबाट जान्छ ।

कहीं जागिर गर्नुहुन्छ वा आंशिक काम, कल्सल्टिड. वा ठेक्का गर्नुहुन्छ भने त्यसबाट प्राप्त भएको आयमा कर कट्टी भएको बिबरण पनि प्यान नम्बरमै सुरक्षित हुन्छ । तपाइँले रगत सिना बगाएर कमाएको धनलाई कुनै सरकारी अधिकारीले कालो धन भनेर तपाइँलाई सम्पति शुद्धिकरणको मुद्धा लाउन पनि सक्दैन ।

प्यान कार्ड भनेको करदाताको एक प्रकारको परिचय पत्र हो । यो सानो आकारको हुन्छ र गोजीमा राखेर मज्जाले हिड्न सकिन्छ । यो सरकारले जारी गरेको परिचय पत्र भएकाले नागरिकता वा अन्य परिचय पत्र नभएको अबस्थामा यसलाई आफ्नो परिचय दिने काममा प्रयोग गर्न सकिन्छ । प्यान कार्ड लिएपछि झन् असुरक्षित हुने हैन, झन् सुरक्षा र परिचय मिल्छ । त्यसैले प्यान लिन्न भन्नु लगानीकर्ताले आफ्नै हित र सुरक्षा बिरोधी कुरा गर्नु हो, आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।

हो, अहिले केही ब्यक्तिहरु प्यान कार्डबाट साँच्चै आतंकित भएका छन्, जसले अविस्वसनीय स्रोतबाट रकम परिचालन गरेका छन् र प्यान लागु भएमा आफुहरुमाथि संकट आईलाग्ने ठानेका छन् । जसले गलत रुपले सेयर बजारमा लगानी गर्ने र झिक्ने गर्दै आएका छन्, सेयर बजारका जम्मा लगानीकर्ता मध्ये बढीमा एक प्रतिशत वा त्यो भन्दा धेरै कम संख्याका ब्यक्तिहरु यो बर्गमा हुनसक्छन् । आफुलाई असर पर्ने आशंका गर्दै उनीहरुले समग्र सेयर बजारका लगानकिर्ताहरुमा आतंक सिर्जना गर्ने काम गर्दै आएका छन् ।

उनीहरुको तर्क के छ भने सेयर बजारमा प्यान अनिबार्य गरियो भने सरकारले कर लाउँछ, अहिले लगाईरहेको भन्दा बढी कर तिर्नुपर्छ, भ्याट लाउँछ, सरकारले कुनै न कुनै किसिमले गाह्रो पार्छ, आदि । म यस्ता तर्क गर्नेहरुलाई स्पष्ट रुपमा भन्न चाहन्छु, अहिले प्यान अनिबार्य नभए पनि दलाल, नेप्से, धितोपत्र बोर्डले लिने गरी चर्को कमिशन असुलेकै छन्, सरकारले पाँच प्रतिशत पूँजीगत लाभकर असुलेकै छ । सेयर दलालले आफ्नो प्यान नम्बर उल्लेख गरी सरकारलाई पूँजीगत लाभकर बुझाएकै छ । प्यान लगाईएकोे छैन भनेर कुनै लगानीकर्ताले यसबाट छुट पाएका छैनन भने भोलि पनि सरकारले लगाउने कर तिर्नबाट कसैले छुटकारा पाउने छैनन् । कर लगाउँछ भनेर प्यान कार्ड नै लिन्न भन्नु मुर्खता बाहेक केही हैन ।

लगानीकर्ताले पूँजीगत लाभ भएको रकमबाट तिरेको पाँच प्रतिशत करलाई अन्तिम कर रकम हो भन्ने कुरा आन्तरिक राजश्व विभागले भनिसकेको छ । यसमा प्यानका बिरोधीहरुले भन्दै आएको जस्तो ब्यक्तिको हकमा साढे तीन लाख र दम्पतिको हकमा चार लाख आयको सिमा लागु नहुने स्पष्ट छ । कुनै एउटा ब्यक्तिले सेयर बजारमा लगानी गरेर एक करोड कमाउँछ भने उसले पाँच लाख रुपैयाँ मात्र कर तिरे हुन्छ, त्यो नै अन्तिम कर हो भनेर कर कार्यालयका अधिकारीहरुले स्पष्ट पारेका छन् । यही बहानामा भोलि सरकारले सेयर बजारमा भ्याट लगाउला भन्ने हो भने त्यो अलग पाटो हो । सेयर कारोबार बित्त सेवा अन्तर्गत भएकाले यसमा भ्याट लाग्दैन, लाग्नु हुँदैन, लगाए त्यो ऐन विपरित हुन्छ र अदालतमा मुद्धा पर्छ, उल्टिन्छ । जहाँसम्म सेयर दलालले आर्जन गरेको कमिशनमा भ्याट लाग्छ कि लाग्दैन भन्ने कुरा हो । लगानीकर्ताबाट असुल गरिएको कमिशनमा भ्याट लाग्ने कि नलाग्ने भन्ने कुरा सेयर दलाल र सरकारबीचको बिबाद हो, यसमा लगानीकर्ता मुछिनुपर्ने कुनै कारण छैन । लगानीकर्ताले थपेर भ्याट रकम बुझाउने हैन ।

प्यान कार्ड लिँदा सरकारलाई राजश्व तिर्नुपर्छ, त्यसैले लगानीकर्ताको खर्च बढ्छ भन्ने हल्ला पनि चलाईएको पाईएको छ । यो पुरै गलत हो, प्यान कार्ड बनाउन कुनै शुल्क तिर्नुपर्दैन ।

प्यान कार्ड लिन कुनै घरभाडा सम्झौता पेश गर्नुपर्दैन, न त नियुक्ति पत्र नै । ब्यक्तिले आफ्नो नागरिकता र दुईप्रति फोटो साथमा राखेर कर कार्यालयको एक पाने बिबरण पत्र भरेर बढीमा ३० मिनेटमा यो कार्ड प्राप्त गर्न सक्छन् । कर चुक्ता लिनु नपर्ने अबस्थामा बर्षै पिच्छे विवरण बुझाउने झंझट पनि छैन । झन् पछि सबै कुरा अनलाईन कारोबारबाटै हुने अबस्थामा विवरण बुझाउने झंझट पनि नआउला ।

प्यान कार्डको विरुद्धमा आतंक फैलाउनेहरुले तेस्र्याएको अर्को तर्क छ, उमेर नपुगेका बालबालिकाहरुको सवालमा प्यान कार्ड कसरी बनाउने ? उत्तर सजिलो छ, उमेर नपुगेका बालबालिकाहरुको नाममा अहिले दोस्रो बजारबाट कसरी सेयर किनिराखिएको छ र प्राथमिक सेयर अर्थात आईपीओमा कसरी आबेदन गरिएको छ ? त्यसैगरी गर्ने हो । नागरिकता लिन उमेर नपुगेकाहरुको संरक्षक राखिएको हुन्छ र उनीहरुकै बिबरणहरु ग्राहक परिचय विवरणमा समाबेश गरिएका हुन्छन् । त्यतिखेर पनि संरक्षककै प्यान नम्बर प्रयोग हुनसक्छ ।

प्यान लिएपछि स्रोतको खोजी हुन्छ भनेर उल्टै डराउनेहरु पनि अहिले धेरै छन् । यो मुर्खता कसरी हो भन्ने पनि म प्रष्ट पार्छृु । तपाइँले बैंकबाट ऋण लिन खोज्दा अहिले हरेक बैंकले आम्दानीको स्रोत देखाउन भन्छन् । धेरै बैंकले कर तिरेको कागज पनि माग्न थालेका छन् । तपाइँको आम्दानीको स्रोत नभएमा बैंकले कर्जा दिदैनन् । कतिपयलाई स्रोत खोज्दैको हैरानी छ । सेयर बजारमा कारोबार गरेको बिबरण, त्यसबाट भएको लाभ, सरकारलाई कर बुझाएको प्रमाण पेश गर्नुभयो भने एउटा गतिलो स्रोत यही हुनसक्छ ।

अर्को तर्क पनि छ, प्यान बिरोधीहरुको । सेयर बजारमा लाखौं लगानीकर्ता छन् र लाखौंको संख्यामा थपिदै छन् । यति धेरै मान्छेको प्यान कार्ड बनाउन, त्यसको रेकर्ड राख्न कर कार्यालयहरुसँग क्षमता छ त ?

प्यान कार्ड बनाउँदा सुरुका केही दिनहरुमा कर कार्यालयहरुमा भीड बढ्न सक्ला तर देशका पचहत्तरै जिल्ला र काठमाडौको सवालमा वडा वडामा खुलेका करदाता कार्यालयहरुले सजिलै काम गर्न सक्छन् । यसको रेकर्ड स्वचालित प्रणालीसहितको कम्युटरमा रहने र ईन्टरनेटमार्फत हेर्न र संशोधन गर्न सकिने हुँदा न त लगानकर्ताले भारी बोक्नुपर्छ न त कर कार्यालयका कर्मचारी नै । अहिलेको कर कार्यालयको प्रणालीलाई अझै सुधार र ब्यवस्थित गरी बैंक खाता, हितग्राही खाता र सेयर दलालको कार्यालयले दिने लगानीकर्ताको संकेत चिन्हलाई एक आपसमा जोडेर कारोबारको बिबरण सिधै करदाताको बिबरणमा संग्रह हुने ब्यवस्था चाँही गर्नुपर्छ । अनलाईनको जमानामा कागज बोकेर हिडिरहनु पर्ने ब्यवस्था औचत्यिपुर्ण छैन । यसो गर्दा लगानीकर्ता विवरण बुझाउन झंझटमुक्त हुनेछन् । कर चुक्ता लिँदा लगानीकर्ता सिधै कर कार्यालय पुगे हुन्छ ।

लगानीकर्ताले बैक खाता खोल्दा, हितग्राही खाता खोल्दा, सेयर दलालकोमा दर्ता हुँदा, कर्जा लिँदा, लिलाममा सहभागी हुँदा, साधारण सेयर आबेदन गर्दा, कर कट्टी हुने कुनै आय आर्जन गर्दा नौ अंकको प्यान नम्बर उल्लेख गर्न भुल्नु हुँदैन । ग्राहक परिचय बिबरण (केवाईसी) भर्दा प्यान नम्बर उल्लेख गरिदिएपछि त्यसमा हुने कर सम्बन्धी कारोबारको विवरणहरु स्वतः करदाताको रेकर्डमा सुरक्षित हुने ब्यवस्था हुनुपर्छ ।

अर्को तर्फ धितोपत्र बोर्डले पनि अहिले नै प्यान अनिबार्य गर्छु भनेको हैन । एक बर्षपछि लागु गर्ने भनेर अहिले कार्ययोजनामा समाबेश गरेको मात्रै हो । उसले यसबारेमा सरोकारवालाहरुसँग पर्याप्त छलफल गरेर नै निर्णय गर्ने विस्वास दिलाएको छ र छलफलको क्रम पनि अगाडि बढाएको छ । यसका सकारात्मक र नकारात्मक पक्षहरुको गहन अध्ययन अबश्य नै हुनेछ ।

प्यान कार्ड लागु गर्ने बारे यसो भन्छ धितोपत्र बोर्ड

अहिले सेयर बजारमा प्यान लागु नभएको पटक्कै हैन । साधारण सेयर आबेदनमा १० लाख भन्दा बढी रुपैयाँ बराबरको आबेदन गर्नुपर्यो भने ब्यक्तिगत करदाता नम्बर अनिबार्य रुपमा पेश गर्नुपर्छ र सबैले त्यो नियम पालना गर्दै आएका छन् । कम्पनीहरुले सेयर कारोबार गर्दा प्यान र भ्याट नम्बर पेश गरेकै छन् । समग्र सेयर बजारलाई स्वच्छ, पारदर्शी र ब्यवस्थित गर्न सबैलाई यो अनिबार्य गर्न खोज्नु नराम्रो हुँदै हैन । सेयर बजार स्वच्छ, पारदर्शी र ब्यवस्थित भयो भने त्यसको सबैभन्दा धेरै फाईदा सर्वसाधारण लगानीकर्ता र पूँजी बजारलाई नै हुुन्छ ।

म धितोपत्र बोर्ड वा कर कार्यालयको मतियार हैन र बन्नु पनि छैन । न त प्यान कार्ड बिरुद्ध अभियान छेड्नेहरुकै शत्रु बन्नु नै छ । प्यान लिनु र आफुले गरेको सेयर कारोबारमा कट्टी भएको पूँजीगत लाभकरको प्रमाण लिँदा लगानीकर्तालाई नै फाईदा हुने भएकाले यसको वकालत गरेको मात्र हुँ । सेयर बजारका लगानीकर्ताले तिरेको कर विवरण ब्यवस्थित होस्, लगानीकर्ताको पहुँचमा पुगोस, उनीहरुको हित संरक्षण होस् भन्नु अपराध हैन । म पनि एक प्यानधारी भएकाले अनुभवहरु साझा गरेको पनि हुँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here