तिलक कोइराला ।

सेयर बजार जुवाको खाल हो र त्यहाँ लगानी गर्यो भने डुबिन्छ भन्ने भ्रम कयौं साधारण ब्यक्तिहरुमा रहेको पाईन्छ । संभवतः दर्शै र तिहारमा कयौंले जुवा खेलेर धेरै पैसा हारेको संझदा सेयर बजार नबुझेकाहरुले जुवाको खालसँग तलुना गरेका होलान् तर जानेर, बुझेर लगानी गर्यो भने नेपालको सन्दर्भमा सबैभन्दा सुरक्षित, आर्थिक उन्नति गर्न सकिने र चाँडै लगानी फिर्ता गर्न सकिने क्षेत्र भनेको सेयर बजार नै हो ।

जुवाको खालमा राखेको पैसा र सम्पति सबै हारेर कतिपयले त श्रीमतिलाई पनि गुमाएको सुन्ने गरिएको छ तर सेयर बजारमा गरिएको सुरक्षित लगानी गुम्दैन । कम्पनी नै खराब पर्यो भने पनि १०० रुपैयाँको सेयर ५० रुपैयाँ होला तर पुरै गुम्दैन झन् राम्रा कम्पनीको सस्तो सेयरमा गुम्ने हैन, कमाउने संभावनै संभावना हुन्छ ।

सेयर बजारमा गरिएको लगानी बढीमा चार दिन भित्र फिर्ता लिन सकिन्छ । तपाइँले कुनै उद्योग खोल्नुभयो वा पसल संचालन गर्नुभयो भने त्यहाँ गरिएको लगानी फिर्ता लिन नै महिना वा बर्ष लाग्नसक्छ अझ नाफा लिन त त्यो भन्दा धेरै कुर्नुपर्छ । तत्काल लगानी गर्न सकिने र तत्काल फिर्ता गर्न सकिने यत्ति चलायमान क्षेत्र सेयर बजार भन्दा अर्को छैन ।

त्यसैले आउनुहोस्, दशैंपछि सेयर बजारमा लगानी गरेर आफ्नो भबिष्य सुरक्षित बनाउने बारेमा मन्थन गरौं ।

मैले सेयर बजारको  १५  बर्षको अनुभव समेतको आधारमा बडो जिम्मेवारीका साथ भन्दैछु कि सेयर बजारमा सुरक्षित लगानी गरेर कोही पनि डुब्दैन, झन् झन् धनी हुँदै जान्छ । एउटा कुरा चाँही म सुरुमै भन्छु, रातारात करोडपति हुन्छु भनेर सेयरको ब्यापार गर्न सेयर बजारमा छिर्न खोज्नु भएको हो भने तपाइँ सेयर बजारबाट परै रहनुस ।

सेयर बजारमा कसरी छिर्ने ?

तपाइँ सेयर बजारमा लगानी गरेर धनी बन्छु भनेरै आउन खोज्नु भएको हो भने सबैभन्दा पहिले सेयर बजारमा छिर्ने तरिका थाहा पाउनुहोस् ।

तपाइँको कुनै बैंकमा पैसा राख्ने बचत खाता छ ? छ भने ठीकै छ, त्यसलाई दुरुस्त राख्नुहोस् । त्यो बचत खाताको आधारमा अब सेयर राख्ने (हितग्राही वा डिम्याट) खाता खोल्नुपर्छ । यो तपाइँको बैक खाता रहेको बैंकको शाखाले पनि खोल्नसक्छ वा कुनै बाणिज्य बैंकको शाखा वा निक्षेप सदस्यता लिएको कम्पनीको कार्यालयमा गएर खोल्न सक्नुहुन्छ । तपाईँको बैंक खाता रहेकै बैंकमा डिम्याट खाता खोल्नुभयो भने पछिलाई पनि धेरै सजिलो हुनेछ । त्यो खाता खोल्न तपाइँको नागरिकताको प्रमाण पत्र वा जन्म दर्ता प्रमाण पत्र वा पासपोर्ट चाहिन्छ र एकप्रति फोटो संलग्न गरी निर्धारित आबेदन पत्र भर्नुपर्छ । सुरुमा १५० रुपैयाँ लाग्छ र बर्षैपिच्छे नविकरण गराउँदा १०० रुपैयाँ बुझाउनुपर्छ ।

त्यसपछि तपाइँलाई १६ अंक भएको डिम्याट खाता नम्बर दिईन्छ र खाता खोलेको प्रमाणित गरी वेलकम लेटर दिईन्छ, त्यो सधै सुरक्षित राख्नुपर्छ । यसका साथै सेयर किनबेच गर्दा भर्नुपर्ने निर्देशन पुर्जी अर्थात डीआईएस पनि तपाइँले पाउनुहुन्छ । डिआईएस भनेको एक प्रकारको चेक नै हो ।

यत्ति भएपछि अब तपाइँले प्राथमिक सेयर आबेदन (आईपीओ) खुल्दा आबेदन गर्न पाउनु हुन्छ । प्राथमिक सेयर आबदेन गर्दा बैंक खाता र डिम्याट खाता अनिबार्य चाहिन्छ । नागरिकता, फोटो लगायतका कागजातहरु केही पनि चाहिँदैन । तपाइँकै बैंक खाता रहेको बैंक शाखामा गएर आबेदन गर्न सकिन्छ । खातामै पैसा रोक्का रहन्छ, सेयर परे पैसा काटिएर जान्छ र सेयर सुचिकरण भएपछि डिम्याट खातामा आएर बस्छ । साधारण सेयरमा आबेदन गर्ने आश्बा प्रणाली पचहत्तरै जिल्लामा छरिएका बैंक शाखारहरुमा पुगिसेकेको छ । पहिले जस्तो झंझट, ठगी र बदमासी छैन, प्रबिधिको कारणले अहिले धेरै सजिलो भएको छ ।

प्राथमिक सेयरमा आबेदन गर्दा सुन्य प्रतिशत जोखिम हुन्छ, गुमाउने हैन, भबिष्यमा कमाउने संभावना हुन्छ तर अहिले एउटै आबेदनमा धेरै पैसा फसाउनु चाँही फाईदाजनक छैन । एक जनाले पाँच हजार रुपैयाँ वा ५० कित्ता आबेदन गरे पुग्छ किनभने साना कम्पनीहरुको सेयर निश्काशन हुँदा मुस्किलले पर्ने १० कित्ता मात्रै हो ।

अब तपाइँ सेयर दलालको कार्यालय गई आफ्नो नाम दर्ता गराएर दोस्रो बजारमा पनि प्रबेश गर्न सक्नुहुनेछ । राजधानी र ११ जिल्लाका १८ शहरमा रहेका सेयर दलालको कार्यालयमा आफ्नो नागरिकताको प्रतिलिपि, बैंक खाता नम्बर, डिम्याट खाता नम्बर र एक प्रति फोटोसहित निर्धारित बिबरण पत्र भरेपछि तपाइँ सेयर कारोबार गर्न योग्य बन्नु हुनेछ । तपाइँले आफ्नो नाममा बजारबाट सेयर किन्न र बेच्न सक्नुहुनेछ । सेयर किन्दा दुई दिन भित्रमा दलाललाई पैसा बुझाउनुपर्छ । चौथो दिनभित्र तपाइँको डिम्याट खातामा सेयर आउँछ ।

कति पैसा छ र कुन कम्पनीको सेयर किन्ने ?

सेयर बजारमा प्रबेश गर्नु अगाडि सबैभन्दा पहिले आफुसँग कति पैसा छ र कति समयसम्मका लागि त्यसलाई परिचालन गर्ने भन्ने कुरा यकिन गर्नुपर्छ । जसरी हामी तरकारी बजार जाँदा गोजीमा पैसा हालिएको छ कि छैन ? के के तरकारी कति परिमाणमा किन्ने हो ? लगायतका कुराहरु यकिन गर्छौ । सेयर बजार पनि एक प्रकारको बजार हो तर तरकारी किनेको भन्दा धेरै जटिल छ । आफ्नो लगानी क्षमता, कम्पनीहरुको आधारभुत अबस्था, लाभांशको आँकलन, सेयरको मूल्य सस्तो वा महंगो, लगानी बिबिधिकरण हुन्छ कि हुन्न लगायतका कुराहरु हेर्नुपर्छ । गहन अध्ययन गरिएन र अरुको लहै लहैमा लागियो भने खराब कम्पनीमा लगानी फसेर डुब्न सकिन्छ । जसरी तरकारी पसलेको कुरामा मख्ख पर्दा कुहिएको तरकारी झोलामा हालिदिएर पैसा लियो, घर पुगेर हेर्दा खानै नमिल्ने खालको तरकारी पो परेछ । त्यो बेला तपाइँलाई कस्तो अनुभुति हुन्छ ?

कम्पनीको बित्तीय विवरणहरु अध्ययन गर्ने, अघिल्ला बर्षहरुमा दिएको लाभांश दर थाहा पाउने र तुलना गर्ने, कम्पनीका संचालकहरु कस्ता छन् बुझने, सेयरको मूल्य कति महंगो छ भनेर जाच्ने लगायतका बिधिहरु प्रयोग गरेर राम्रा कम्पनी छान्न सकिन्छ ।

आफुसंग एक लाख रुपैयाँ छ भने पहिले १० हजार रुपैयाँ लगानी गरेर ४, ५ वटा कम्पनीको सुरुमा १०, १० कित्ताको दरले सेयर किन्ने । त्यसको भोलिपल्ट लेखाजोखा गर्ने र फेरि सेयर बजार घट्यो भने राम्रो अरु ४, ५ वटा कम्पनीको सेयर मूल्य घटाएरै किन्ने । बजार धेरै घट्न थाल्यो भने रोकिने र घटेर तल पुगेपछि सेयर किन्ने । अन्तिममा १०, १५ हजार रुपैयाँ आफैसँग राखिरहने किनभने सस्तोमा राम्रो कम्पनीको सेयर किन्ने अवसर जहिले पनि आउँछ ।

सेयर किन्ने तरिका

सेयर बजारबाट कम्तिमा १० वटा राम्रा कम्पनी छान्नुहोस् । राम्रा कम्पनी छान्ने बिशिष्ट तरिकाहरु छन् । त्यसलाई अहिले नै एकैपटक धेरैले बुझन् गाह्रो पर्छ ।

तपाइँले १० वटा कम्पनी कम्पनी छानेर एकै चोटी एउटै कम्पनीको सेयरमा भए भरको पैसा खन्याउने हैन, अलि अलि गरेर सबै कम्पनीको सेयर किन्दै जानुपर्छ । सेयर बजार घटेर धेरैको भागाभाग भईरहेको बेला बजार छिर्नुपर्छ । अहिले पनि बजार घटेर तल्लो बिन्दुमै रहेको बेला तपाइँले १० वटा कम्पनीमा लगानी बिबिधिकरण गरेर सेयर बजारमा प्रबेश गर्ने क्रम सुरु गर्नुपर्छ । बजार जत्ति घट्दै जान्छ, सेयर किन्ने क्रम बढाउँदै लैजानुपर्छ । सेयर बजार बढ्न थालेपछि भने सेयर किन्न बन्दै गर्नुपर्छ । नयाँ लगानीकर्ता प्रबेश गर्ने र सेयर किन्ने घटेकै बेला हो, जत्ति घट्दै जान्छ, त्यही रफ्तारमा हो ।

कम्तिमा १० कम्पनी मध्ये पाँच बाणिज्य बैंक र पाँच बीमा कम्पनी चाँही हुनै पर्छ । बाणिज्य बैंक मध्येमा ६०० रुपैयाँ भन्दा तल सेयर मूल्य भएको, गत बर्षको लाभांश बाँड्न बाँकी भएको वा लाभांश बाँडेर सेयर मूल्य निकै तल आएको, आउने दिनमा राम्रो प्रगति गर्ने संकेत देखाएको हुनुपर्छ । बीमा कम्पनीहरुमा लगानी गर्नु पनि दीर्घकालीन हिसाबले धेरै फाईदाजनक छ । नेपालको बीमा बजारले ९० प्रतिशत खाली मैदानमा ब्यापार बिस्तार गर्नुपर्ने संभावना रहेकाले आगामी दिनमा बीमा कम्पनीहरुले पनि राम्रै प्रतिफल दिनसक्छन् तर उचालिएर महंगो मूल्यमा बीमाको सेयर किन्नु हुँदैन । अरु केही बिकास बैंक, फाईनान्स, जलबिद्युत, नेपाल टेलिकम, राम्रा र बलिया लघुबित्तको सेयरमा लगानी गर्दा दीर्घकालमा फाईदा हुने भए पनि जोखिम बहन क्षमता र कारोबार बिस्तारका हिसाबले बाणिज्य बैंक र बीमा नै अहिलेलाई ठीक छन् ।

सेयर किन्नुपर्ने कम्पनीहरु

क. तलको सूचीबाट कुनै पाँच वटा छान्नुहोस्

१. नेपाल ईन्भेष्टमेन्ट बैंक(NIB)
२. कृषि बिकास बैंक (ADBL)
३. नेपाल बैंक (NBL)
४. प्राईम कमर्शियल बैंक (PCBL)
५. एनएमबी बैंक (NMB)
६. बैंक अफ काठमाण्डु (BOKL)
७. ग्लोबल आईएमई बैंक (GBIME)
८. प्रभु बैंक (PRVU)
९. सानिमा बैंक (SANIMA)
१०. एनआईसी एशिया बैंक (NICA)
११. सिद्धार्थ बैंक (SBL)
१२. सनराईज बैंक (SRBL)
१३. सिटिजन्स बैंक (CZBIL)
१४. नेपाल बंगलादेश बैंक (NBB)
१५. जनता बैंक (JBNL)
१६. सेन्चुरी बैंक (JBNL)
१७ लक्ष्मी बैंक (LBL)
१८. कुमारी बैंक (KBL)

ख. यो सूचीबाट कुनै दुई वटा कम्पनी छान्नुहोस्

नेपाल लाईफ ईन्स्योरेन्स (NLIC)
लाईफ ईन्स्योरेन्स कर्पोरेशन (LICN)
नेशनल लाईफ ईन्स्योरेन्स (NLICL)
प्राईम लाईफ ईन्स्योरेन्स (PLIC)
गुँरास लाईफ ईन्स्योरेन्स (GLICL)
सुर्या लाईफ ईन्स्योरेन्स (SLICL)

ग. यो सूचीबाट कुनै तीन वटा कम्पनी छान्नुहोस्

शिखर ईन्स्योरेन्स (SICL)
सिद्धार्थ ईन्स्योरेन्स (SIL)
लुम्बिनी जनरल ईन्स्योरेन्स (LGIL)
हिमालयन जनरल ईन्स्योरेन्स (HGI)
नेको ईन्स्योरेन्स (NIL)
प्रुडेन्सियल ईन्स्योरेन्स (PICL)
प्रभु ईन्स्योरेन्स (PRIN)
एनएलजी ईन्स्योरेन्स (NLG)

सेयर किन्ने कम्पनी अनुपात

क. बणिज्य बैंक – ५
ख. जीवन बीमा  – २
ग. निर्जीवन बीमा -३
जम्मा  – १०

माथि उल्लेखित कम्पनीहरुको पूँजी आधार बलियो हुनुका साथै आगामी दिनमा झन् धेरै राम्रो प्रगति गर्नसक्ने संभावना छ । कम्पनीको चुक्ता पूँजी, जगेडा, कारोबारमा बृद्धि, संस्थागत सुशासन, लाभांशको दर, प्रति सेयर आम्दानी, मूल्य आम्दानी अनुपात, जोखिमबहन क्षमता लगायतका आधारभुत कुराहरुको विश्लेषण गरी सुझाव प्रस्तुत गरिएको हो ।

१० वा सो भन्दा धेरै राम्रा तर सस्तो सेयर मूल्य भएका कम्पनीहरुको सेयरमा लगानी विविधिकरण गर्नु सुरक्षित हुने सबैभन्दा उत्तम उपाय हो । एउटा, दुई वटा कम्पनी बिग्रिए वा राम्रो प्रगति गर्न सकेनन् भने पनि अरुले तपाइलाई घाटामा जान दिदैनन् ।

यसरी अनुपात मिलाएर सेयर बजारमा लगानी गर्नुभयो भने तपाइँको लगानी सुरक्षित हुनेछ र राम्रा कम्पनीले दिने लाभांश र सेयर मूल्य बृद्धिबाट तपाइँ अबश्य नै धनी हुनसक्नु हुनेछ । सेयर मूल्य बढेन भने पनि चिन्ता नगर्नुहोस् कम्पनीले लाभांश खुवाएर तपाइँलाई पाल्छ ।

तपाइँले कमाउँदा एक्लै मेहनत गरेर कमाउने हो तर राम्रो कम्पनीमा लगानी गर्नुभयो भने त्यसका सयौं कर्मचारीले तपाइँका लागि कमाई दिईरहेका हुन्छन् । आर्थिक बर्ष सकिए पछि लाभांश घोषणा गरेर कम्पनीहरुले कमाई बाड्छन् । तपाइँले कमाएको पनि त्यसमा जोड्नु भयो भने झन् धेरै धनी बनेको महसुस गर्नुुहुनेछ ।

फाईदा हुन कति समय लाग्ला ?

आजको भोलि नै ठूलो लाभ नहुनसक्छ तर सेयर मूल्य बढ्यो भने तपाइँले सेयर बेचेर फाईदा सुरक्षित गर्न पनि सक्नुहुन्छ । माथि समाबेश गरिएका कम्पनीहरुको सेयरमा गरिएको लगानी कम्तिमा तीन बर्षका लागि हो । त्यो बेलासम्म धान्ने तपाइँको क्षमता छ कि छैन मुख्य कुरा हो ।

सेयर किनेपछि मूल्य घटेर घाटा भयो भने ?

सेयर बजारमा प्रबेश गर्नुभन्दा अगाडि तपाइँले के बुझ्नुपर्छ भने सेयर बजार तलमाथि भईरहन्छ । कहिले बजार घट्छ, कहिले घट्छ । घट्नु र बढ्नु नै सेयर बजारको सुन्दरतम पक्ष हो । यसमा बिभिन्न कुराहरुले प्रभाव पारेका हुन्छन् ।
तपाइँले राम्रा कम्पनीहरुको सेयर सस्तो मूल्यमा किन्नु भयो तर बजार घट्यो भने पनि आँत्तिनु हुँदैन । बजार धेरै बढेर ३०, ४० प्रतिशत फाईदा भयो भने सेयर बेचेर फाईदा सुरक्षित गर्नसक्ने विकल्प त जहिले पनि हुन्छ । तर दीर्घकालीन लगानीकर्ताले सस्तोमा किनेको सेयर नबेचेरै राख्दा पनि प्रशस्त फाईदा भएका उदाहरणहरु छन् ।

कसको सल्लाहमा सेयर किन्नु ठीक ?

हल्ला र अरुको लहै लहैमा सेयर बिनबेच गर्दै नगर्नुहोला । अरुको पनि कुरा त सुन्ने तर कम्पनीको वास्तविक अबस्था थाहा पाउन आफैले अधययन विश्लेषण गरेर सेयर किनबेच गर्नु ठीक हुनेछ । सेयर बजारका बारेमा धेरै कुरा थाहा नपाएकाहरुले अक्सर सेयर कारोबारी र सेयर दलालहरुलाई सोध्ने गरेका छन् तर सबै सेयर कारोबारी र सेयर दलालले राम्रै सल्लाह दिन्छन् भन्न सकिन्न । कतिपय सेयर दलालले खराब कम्पनीको सेयर किनाईदिएर लगानीकर्ताहरु फसेको पनि कयौं उदाहरण छन् ।

तपाइँको पैसा हो र तपाइँले जोखिम लिने हो भने निर्णय पनि तपाइँले नै लिनुपर्छ । यसो गर्दा फाईदा भयो भने कसैलाई बाँड्न पर्दैन । अरुको लहै लहैमा वा गलत सल्लाहमा सेयर किन्नुभयो भने घाटा पर्दा उनीहरुले तपाइँलाई पैसा हैन, उल्टो तनाव दिन्छन् ।

अझ प्राविधिक विश्लेषकहरुको सल्लाह लिन थाल्नुभयो भने त खतरा कतै नजा । किनभने प्राविधिक विश्लेषकले कम्पनीको आधारभुत अवस्था, संचालकहरुको हैसियत, संस्थागत सुशासन केही पनि हेर्दैनन् । मात्रै सेयरको मूल्य र किनबेच भएको संख्याको तथ्यांकमा उनीहरु खेलेका हुन्छन् । उनीहरु आफैले सेयर किन्दा खराब कम्पनी परी थाम्नै नसक्ने घाटा खाएर अहिले छटपटाईरहेका छन् भने तपाइँलाई सही सल्लाह दिन्छन् कसरी भन्नु ।

प्राविधिक विश्लेषकहरुले राम्रा कम्पनीहरुमा लगानी बिबिधिकरण (डाइृभर्सिफाई) को कुरा गर्दैनन् । कुनै एउटा कम्पनीको सेयर कारोबारको प्रृबृत्ति केलाउँछन् र यो बिन्दुमा किन्ने र यो बिन्दुमा मूल्य पुगेपछि बेच्ने भन्ने सल्लाह दिन्छन् । सेयर बजार उनीहरुको आँलकन विपरित हिडिदिन्छ र घाटा भएपछि “स्टप लस” भन्दै सेयर बेचेर घाटा खाउ भन्छन् । यसले सर्बसाधारण लगानीकर्तालाई जोखिममा पारिदिन्छ । केही जान्दै नजानेकालाई प्राविधिक विश्लेषकहरु सेयरको ब्यापार गर्न सिकाउँछन् । वास्तबमा नेपालको सेयर बजारमा सेयरको ब्यापार गर्नेहरुले धेरैजसो खाने घाटा नै हो ।

नेपालको सेयर बजारमा आधारभुत कुराहरुले साथ नदिईरहेको अबस्था हुँदा आधारभुत बिश्लेषकहरुको कुरा पनि पत्यारलाग्दो हुन्न । आधारभुत बिश्लेषकहरुले अब सेयर बजार बढ्छ भन्ने बिश्लेषण पस्कदै गर्दा बजार थाम्नै नसक्ने गरी घटिरहेको देख्न सकिन्छ ।

नेपालको सेयर बजारमा दीर्घकालीन लगानीकर्तालाई घाटा खाने छुट छैन ।

दशैंमा बचत गरी भबिष्य सुरक्षित पार्न लगानी गर्नुहोस्

दशैको समयमा नेपालमा धेरै रेमिट्यान्स आउँछ । बिदेशमा रहेका आफन्तहरुले दशैं मनाउन पैसा पठाउँछन् । त्यो पैसा धेरै जसो खर्च र मोजमस्तीमै सकिन्छ । बिदेशबाट आउने १०० रुपैयाँमा ३ रुपैयाँ मात्रै बचत हुने गरेको छ तर त्यो पनि उत्पादनमुलक काममा लाग्दैन ।

आफन्तहरुले बिदेशबाट रगत पसिना बगाएर पठाएको पैसा फजुल खर्चमा नसिध्याउनुहोस् । त्यसबाट बचत गर्नुहोस् र सेयर बजारमा सुरक्षित लगानी गर्नुहोस् । अर्को बर्ष दशैं मान्ने पैसा यही लगानी गरेर नाफाबाट प्राप्त गर्न सकिन्छ ।

लगानी गरेर करोडपति हुन सकिन्छ त ?

नेपालको सेयर बजारमा लगानी गरे करोडपति भईन्छ भन्ने बिश्लेषकहरुको भरमा अन्धाधुन्ध लगानी गर्दा खराब कम्पनी परी कयौं लगानीकर्ता रोडपति भएका छन् । जे गर्ने हो आफैले सोची बिचारी गर्नुहोस् । एकैपटक करोडपति भएको सपना नदेख्नुहोस् । लगानी विविधिकरण गरेर सुरक्षित कम्पनीमा दीर्घकालीन लगानी गरे अबश्य धनी बन्न सकिन्छ । सुरक्षित बाटोमा ढिलो गरेर गए अबश्य गन्तब्यमा पुगिन्छ, छिट्टै पुग्छु भनेर खतरापूर्ण बाटो हिड्नुु भयो भने चिप्लेर भीरबाट लडिन्छ कि बाघ भालुको आक्रमणमा परी घाईते भईन्छ ।

सेयरलगानी डटकम तपाइँलाई लामो बाटो हिड्न सुझाउँछ किनभने हामी सुरक्षित लगानीको संबाहक हौ ।

 

 

2 COMMENTS

  1. तिलक कोइराला ज्यु को यो सल्लाह मलाई मन पर्यो – प्राविधिक विश्लेषकहरुको सल्लाहमा सेयर लिन थाल्नुभयो भने त खतरा कतै नजा । किनभने प्राविधिक विश्लेषकले कम्पनीको आधारभुत अवस्था, संचालकहरुको हैसियत, संस्थागत सुशासन केही पनि हेर्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here