सेयर बजारमा कम्पनीको आधारभुत अवस्था र आफ्नो जोखिमबहन क्षमता हेरी लगानी गर्ने कुराहरु आम रुपमा स्थापित छ । तर बजारका खेलाडीहरुले यति मात्रै नहेरी कम्पनीको सेयरको आपुर्ति र मागको अवस्था हेरी सोही अनुसार रणनीति अख्तियार गर्दा सधैं राम्रा कम्पनीको सेयर मूल्य मात्रै बढ्छ भन्ने कुरा असत्य सावित हुन्छ ।

कम्पनीहरुले धमाधम वित्तीय विवरणहरु पस्केर गत बर्षको नाफाबाट कसले कति रुपैयाँ लाभांश बाँड्नसक्छन् भन्ने हिसाब गर्नेहरु एकातिर हुन्छन् भने अर्काातिर खेलाडीहरु कुन कम्पनीको सेयरमा माग पक्षमा चाप पारी मूल्य उचालेर पूँजीगत लाभ बढी हाँसिल गर्न सकिन्छ भन्ने सोचिरहेका हुन्छन् ।

बजारमा माग बढ्दा मूल्य बढ्ने र आपर्ति बढ्दा मूल्य घट्ने प्रबृत्ति हुन्छ । कहिले काँही माग बढ्यो तर आपुर्ति पनि सोही अनुसार आयो भने मूल्यमा खासै फरक पर्दैन । यो कुरा बस्तु तथा सेवाका साथै सेयरमा पनि उत्तिकै लागु हुन्छ । जुन कम्पनीको सेयर आपुर्ति कम छ र त्यसमा माग बढाएर मूल्य उचाल्न सकिन्छ, खेलाडीहरु त्यतै लाग्छन् । बजारमा सेयर आपुर्ति कम रहेका सेयरमा खेलाडीहरुको मुख्य ध्यान हुन्छ । राम्रो भए पनि आपुर्ति धेरै रहेका सेयरमा खेलाडीहरुले खेल्न सक्दैनन् र उनीहरुले त्यसबाट मुख फर्काउँछन् ।

नेपाल र विश्वका अरु सेयर बजारमा पनि आधारभुत अवस्था कमजोर रहेका मूल्यहिन कम्पनीहरुको सेयर मूल्यमा बढोत्तरी भईरहेको देखिन्छ, किनभने यस्तै कम्पनीमा खेलाडीहरुको बढी चलखेल हुने गर्छ । नेपालको जस्तो नीति, नियम, प्रविधि, पुर्वाधार र नियमन कमजोर रहेको सेयर बजारमा यो संभावना अझै धेरै रहेको छ । खेलाडीहरुले चलाएको कम्पनीको बारेमा हकप्रद, बोनस वा अन्य कुनै सकारात्मक खालका खबर आउने भयो भने दिनका दिन सर्किट लगाएर मूल्य कुदाउने प्रबृत्ति हुन्छ ।

सेयर बजार एकदम जोखिमको क्षेत्र भएकाले यस ठाउँमा प्रबेश गरी लगानी गर्दा एकदम होसियार हुनुपर्छ । लगानीकर्ताले जोखिम लिएर नियम भित्र बसी गरेको कारोबारलाई कसैले प्रश्न उठाउँन सक्दैन । फलानो कम्पनीको सेयर मूल्य किन बढ्यो वा घट््यो वा कति हुनुपर्छ जस्ता तर्कहरु फेल खाईरहेका हुन्छन् किनभने आधारभुत अवस्थाले सहयोग नगरे पनि खेलाडीहरुको खेल र लगानीकर्ताको मनोबिज्ञानले सेयर मूल्यमा उतार चढावका अबस्थाहरु देखिईरहेका हुन्छन् ।

लाभांशमा आधारित लगानी गर्ने हो भने आधारभुत अवस्था राम्रो भएकै कम्पनी छान्ने हो र पूँजीगत लाभ बढी लिने होे भने बजारमा आपुर्ति कम रहेका र खेलाडीहरु लागेकै सेयर धारणा गर्ने हो । यदि आफुलाई कम जोखिम होस तर फाईदा पनि होस भन्ने हो भने लाभांश र पूँजीगत लाभ दुबै हुने कम्पनीहरु छान्नुपर्छ । पूँजीगत लाभमा मात्रै आधारित रहेर लगानी गर्दाको जोखिम धेरै हुन्छ र सर्बसाधारणहरु धेरै मात्रामा फस्ने यस्तैमा हो ।

त्यसैले बजारको जोखिम आँकलन र आफ्नो लगानी कौशल भएन, समयमा सही निर्णय गर्न सकिएन भने लाभांशमा अधारित लगानी होस् कि पूँजीगत लाभमा आधारित नै किन नहोस, दुबै तर्फ क्षति ब्यहोर्नुपर्छ । नजान्नेका लागि मात्रै हैन, जान्नेका लागि पनि यही नियम हो । तर लगानीकर्ताहरुले आफ्नो जोििखमबहन क्षमता र लगानी रणनीति अनुसार फरक फरक शैली अपनाउने हुँदा सबैले यसै गर्नुपर्छ भन्ने हैन । कमाउने र गुमाउनेहरुको समिश्रण नै सेयर बजार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here