तिलक कोइराला ।

सेयर बजारमा लगानी गर्ने सबैले कमाउँछन् हैन, हल्ला र लहै लहैमा लाग्दा एकैचोटी हजारौले करोडौं गुमाउने खतरा पनि उत्तिकै हुन्छ भन्ने कुरा देखाउँन सेयर लगानी डटकम एउटा बिशेष खोज सामाग्री यहाँ प्रस्तुत गर्दछः

लगानीकर्तालाई फसाउने घटनाक्रम

हिमालय डिष्टिलरी (HDL)को सेयर मूल्य गत असारको तेस्रो सातातिर बढ्दै गएर प्रति कित्ता ८०० रुपैयाँको हाराहारीमा पुगेको थियो । असार २६ गतेपछि तीब्र रुपमा सेयरको भाउ बढ्न थाल्यो । सेयर बजारका लगानीकर्ताहरु किन भाऊ बढ्यो भनेर खोज्न नलागी सेयर किन्न दौडधुप गरिरहे ।

स्रोतः नेपाल स्टक एक्सचेन्ज

लगातार १५ दिन दैनिक १० प्रतिशतले मूल्य बढेर साउन १८ गते उसको प्रति कित्ता सेयर मूल्य २२४६ पुग्यो । अघिल्लो दिन जम्मा ११० कित्ता मात्रै सेयर किनबेच भएकोमा त्यसदिन १६६० कित्ता सेयर सेयर किनबेच भयो । सोही दिन ५९ नम्बर सेयर दलालमार्फत धेरै कित्ता किनबेच भयो र मूल्य बढाउँदै गएर २ हजार २४६ रुपैयाँ प्रतिकित्ताको उच्चतम भाऊमा धेरै सेयर बेचियो । त्यस दिन जम्मा ११ हजार १३५ कित्ता सेयर सबैभन्दा महंगो मूल्यमा किनबेच भयो ।

त्यसको दोस्रो दिन अर्थात साउन १९ गते मूल्य प्रति कित्ता २ हजार रुपैयाँको हाराहारीमा रह्यो र २ हजार ५६५ कित्ता सेयर किनबेच भयो । ब्रोकर नम्बर ५९ ले त्यसदिन पनि किनिरहेको थियो । साउन २२ गते आईतबार पनि हिमालय डिष्टीलरीको सेयर मूल्य प्रतिकित्ता २ हजार कै हाराहारीमा रह्यो र ब्रोकर नम्बर ५९ ले नै अधिकांश कित्ता किनेको देखियो ।

साउन २३ गते ब्रोकर नम्बर ६ र अरु सेयर दलालहरुमार्फत ठूलठूला कित्ताहरु सेयर बेचियो । त्यसदिन ९,१८२ कित्ता सेयर बिक्री भयो ।

त्यसपछि साउन २५ गते बुधबार कारोबार खुल्दा सेयर मूल्य उच्च दरमा घट्यो र जम्मा ९४० कित्ता मात्र सेयर कारोबार भयो । साउन २६ गते बिहीबार ब्रोकर नम्बर ५९ ले एउटा १०० कित्ता, अर्को २० कित्ता र अरु १० कित्ताका दरले सेयर मूल्य बढाएर किनेको देखियो । यस दिन जम्मा ७३० कित्ता मात्र किनबेच भएको देखियो ।

त्यसपछि सेयर मुल्य घट्ने क्रम तीब्र हुँदै गर्दा सेयर किनबेचको क्रम अति सुस्त भएर साउन ३२ गते बुधबार १९५ कित्ता मात्र कारोबार भयो । त्यसपछि भदौ १ गते बिहीबार १०० कित्ता मात्र किनबेच भयो । यति बेलासम्म सेयर मूल्य १५१२ रुपैयाँ प्रतिकित्तामा झरिसकेको थियो ।

भदौ ४ गते आईतबार सेयर मूल्य घट्ने क्रम अरु तीब्र भएपछि यसअघि महंगोमा सेयर किनेकाहरु अरु घट्ला भनी सेयर बेच्न आए र ३ हजार ५४५ कित्ता सेयर बिक्री भयो ।

त्यसपछिका दिनहरुमा सेयर मूल्य घट्ने क्रमसँगै कारोकार संख्या र किनबेच भएको सेयर संख्या घट्दै गयो । पहिले मूल्य उचालिएको बेलामा सेयर खरिद बिक्री धेरै गर्ने दलाल कम्पनी ब्रोकर नम्बर ५९ ले कारोबारमा सक्रियता देखाएन । त्यसपछि सेयर मूल्य ११८५ रुपैयाँ प्रतिकित्तासम्म झर्यो र २२४६ रुपैयाँ प्रतिकित्तामा सेयर किन्नले प्रति कित्तामा खुद एक हजार ६१ रुपैयाँ घाटा खाए । यो घाटा रकम सेयर दलाललाई तिर्नुपर्ने कमिशन बाहेकको हिसाब हो ।

लगानीकर्ताको होस् नआउँदा भयंकर क्षति

साउन ३० गते सोमबार कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासिक बित्तीय विवरण प्रकाशित गरेपछि हल्ला र लहै लहैमा उचालिएर सेयर किन्नेहरु मध्ये केहीकोे होस् खुल्न थालेको देखिन्छ । सेयर बजारबाट पहिलेदेखि नै सेयर कर्नरिडं गर्दै आएकाहरुले धेरै लगानीकर्ताहरु होस्मा नआउँदै २२४६ प्रति कित्ता वा तल्लो मूल्यमा सेयर बेचेर बाहिरिएको देखिएको छ । साउन १८ गतेको ठूलो कारोबारले यही संकेत गर्छ । तर जो हिमालय डिष्टीलरीको गोल्ड ओयकको मात संझेर उचालिदै सेयर किनिरहेका थिए, उनीहरु फसे । वास्तवमा हिमालय डिष्टीलरीको सेयर मूल्य अहिलेको सेयर बजारमा रहेका अरु कम्पनीसँग तुलना गर्ने हो भने प्रतिकित्ता १२० देखि १५० रुपैयाँसम्ममा किन्नु पनि महंगो हुन आउँछ ।

कस्तो छ कम्पनीको बित्तीय विवरण ?

३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले पर्साको लिपनी बिर्तास्थित कारखानाबाट गोल्ड ओयक, रोयल ट्रिजर लगायतका रक्सी र स्पिरिट उत्पादन गर्छ । कम्पनीले आर्थिक बर्ष २०७३।०७४ मा तीन करोड ८८ लाख खुद नाफा गरेको बित्तीय विवरणमा उल्लेख गरेको छ ।

अघिल्लो बर्ष उसले १६ करोड खुद नाफा गरेकोमा झण्डै १३ करोडले गत बर्ष कम हो । प्रति सेयर आम्दानीको हिसाब गर्दा लगानीकर्ताले दोस्रो बजारबाट प्रति कित्ता २ हजार २४६ रुपैयाँ हालेर किनेको सेयरले १० रुपैयाँ ९ पैसा मात्रै कमाएको छ । यसका आधारमा मूल्य आम्दानी अनुपात हिसाब गर्दा २२२.५९ गुणा हुन आउँछ, जुन निकै चिन्ताजनक अबस्था हो । प्रति सेयर नेटवर्थ हेर्दा १५२ रुपैयाँ ठीकै भए पनि प्रति सेयर सम्पतिको मूल्य १७२ रुपैयाँ ३० पैसाले धेरै कमजोर अबस्था देखाउँछ । बैंक मौज्दातको अबस्था पनि दयनीय बन्दै गएको छ ।

बिगत बर्षहरुको लाभांश

कम्पनीले आर्थिक बर्ष २०७३ ।०७३ र २०७१।०७२ मा सेयरधनीलाई २०, २० प्रतिशत नगद लाभांश दिएको थियो । त्यस भन्दा अगाडि ०७०।०७१ मा १० प्रतिशत नगद लाभांश दिएको थियो । अघिल्ला बर्षहरुको संचित नाफा समेत हिसाब गर्ने हो भने उसले अब हुने साधारणसभामा दिने पनि पनि बढीमा २०, ३० प्रतिशत नगद लाभांश नै हो । कम्पनीको अबस्था नै खस्किएकाले लाभांश देला नदेला संदेहकै घेरामा छ । प्रति कित्ता १०० रुपैयामा सेयर किन्नेलाई २० रुपैयाँ नगद लाभांश धेरै ठूलो रकम हो तर २२४६ रुपैयाँमा किन्नेलाई हात्तीको मुखमा जिरा सरह पनि हैन ।

संस्थागत सुशासन उत्तिकै चिन्ताजनक

कम्पनीले उत्पादन गर्ने रक्सीको बेचबिखन र अन्य कारोबारहरुमा प्रबन्ध संचालकको स्वार्थ प्रत्यक्ष रुपमा बाझिने कृयाकलापहरु हुँदै आएका छन् । कम्पनीका अध्यक्षका नजिकका नातेदार विजयकुमार शाहले कम्पनीको आर्थिक कारोबार तथा उत्पादित रक्सीको बेचविखन तथा त्यसबाट आर्जन हुने नाफामा सिधा हस्तक्षेप गर्दै आएको २०७२।०७३ को लेखापरीक्षण प्रतिबेदनले देखाएको छ ।

जीपी राजवाहक एण्ड कम्पनीका सीए अशेष राजबाहकले गरेको लेखापरीक्षण प्रतिबेदनमा विजयकुमार शाह र उनको कम्पनी विजय डिष्टीलरी, एशियन डिष्टीलरी, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज, फुड एण्ड टेक्नोलजी रिसर्च सेन्टरसँग कारोबार र लेनदेनको बिबरण दिएको छ ।

नातेदार अध्यक्ष रहेको पब्लिक कम्पनीबाट एउटा ब्यक्ति र उसको एकल कम्पनीले मनलाग्दी फाईदा लुट्दा संस्थागत सुशासनको अबस्था दयनीय रहेको प्रष्ट देखिन्छ । कम्पनीको कारोबार र फाईदामा एउटा ब्यक्तिको हालीमुहाली प्रत्यक्ष देखिन्छ । अर्को तर्फ कम्पनी ऐनले तोकेको भन्दा बढी खर्च गरेर बर्षेनी साधारणसभाबाट पारित गराई भुक्तानी लिने क्रम चलिरहेकै छ ।

कर छलेको बर्षौदेखिको मुद्धा विचाराधिन

हिमालय डिष्टीलरीले २०६० सालदेखि कर छलेको मुद्धा अदालतमा बिचाराधिन रहेकाले त्यस वापतको दायित्व पनि ब्यहोर्न पर्ने देखिएको छ ।

अदालतबाट कर निर्धारण भएको अबस्थामा करोडौको दायित्व कम्पनीले बोक्नुपर्ने अबस्था छ । अदालतमा कम्तिमा पाँच वटा यस्ता मुद्धाहरु विचाराधिन छन् ।

मजदुर समस्या उस्तै

हिमालय डिष्टीलरीको पर्सा स्थित उद्योगमा ब्यवस्थापन र मजदुरहरुवीचको असमझारी उत्तिकै चर्को रहेको छ । कम्पनी ब्यवस्थापन र मजदुरहरुको कुरा नमिल्दा लामो समयदेखि कारखाना राम्रोसँग संचालन हुन सकेको छैन ।

यसले कम्पनीले उत्पादन गर्ने मदिरा र त्यसको बिक्री बितरणमा ठूलो बाधा पारेको छ । अर्को तर्फ गोल्ड ओयकको ट्रेडमार्क सम्बन्धी मुद्धाको पनि छिनाफानो हुन सकेको छैन ।

के सधैका लागि बन्द हुनसक्छ कम्पनी ?

यस्तो कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताहरु जहिले पनि जोखिममा हुन्छन् । कुनै प्रत्यक्ष नियमनकारी निकाय नभएको त्यसमा पनि रक्सी कम्पनीको केही भर छैन ।

कर छलेको बर्षौदेखिको मुद्धाको छिनोफानो नहुनु, उत्पादन गर्दै आएको रक्सीको ब्राण्ड बिबादास्पद भई अदालती मुद्धाको सहारा लिन पर्नु, मजदुरका मागहरु बढ्दै गएर समस्या चर्किनु, मजदुर मामिलामा अदालतमै मुद्धा पर्नु, कम्पनीको आम्दानी खस्किदै जानु, विबिध समस्याले कारखाना नियमित संचालन हुन नसक्नु , संचालककै स्वार्थ बाझिने कारोबार हुनु लगायतका कारणले हिमालय डिष्टीलरीलाई ठूलै संकटले घेरा हालेको देखिन्छ ।

यस्तो कम्पनीमा कसरी फसे लगानीकर्ता ?

कमजोर अबस्थाको यस्तो कम्पनीमा सेयर बजारका सोझा लगानीकर्ता कसरी फसे भन्ने कुरा निकै संबेदनशिल देखिएको छ । कसैले सेयर बजारमा हिमालय डिष्टीलरीले एक अर्ब खुद नाफा गर्यो रे, यसको सेयर किने मालामाल भईन्छ भन्ने हल्ला फैलाएको बुझिन आएको छ । त्यसपछि सेयर दलालको कार्यालय हुँदै फैलिएको हल्लामा लगानीकर्ताहरु दिनदिनै उचालिएर सेयर किन्न थालेको देखिन्छ । यसमा खासगरी सेयर ब्रोकर नम्बर ५९, ३८ र २८ मार्फत बढी चलखेल भएको बताईन्छ ।   कसैले नियोजित खेल खेलेको थियो, बढेर उच्च मूल्यमा सेयरको भाऊ पुगेपछि एकैचोटी धेरै कित्ता सेयर बिक्री र निराशाजनक बित्तीय विवरण प्रकाशनले त्यसको पटाक्षेप गरेको छ । चलाखहरु सेयर बेचेर भागेको र सोझा लगानीकर्ता फसेको देखिएको छ ।

कम्पनीको बित्तीय र आधारभुत अबस्थाहरु हेर्ने हो भने अहिले घटेर कायम भएको सेयर मूल्य १३५० पनि धेरै महंगो हो । यसको आधारमा हिसाब गर्दा मूल्य आम्दानी अनुपात १३४ गुणा हुन आउँछ । यस्तो कम्पनीमा उचालिएर सेयर किन्ने मुर्खता गर्न छाडी सेयर भए बेचेर राम्रो कम्पनीमा लगानी  सार्नु नै बुद्धिमानी ठहर्छ ।

सेयर मूल्य दिनदिनै उचालिनेमा भन्दा पनि क्रमबद्ध प्रगति गर्दै गरेको, संस्थागत सुशासन राम्रो रहेको, राम्रो लाभांश दिने र सेयर मूल्य सस्तो कम्पनीमा लगानी गर्दा जोखिमबाट बच्न सकिन्छ ।

सबैले बित्तीय विवरण र लाभांशको अबस्था हेरेर सेयर किन्दैनन्, यसरी सेयर बजार चल्दैन भन्ने हो भने त्यहाँ फस्ने संभावना अधिक हुन्छ । सेयर बजार भनेको कसैलाई फसाउनु र कसैले कमाउनु हैन, नेपालको सेयर बजारमा राम्रा कम्पनी छानेर सुरक्षित लगानी गरे त्यस्ता कम्पनीमा लगानी गर्ने सबैले कमाउने प्रशस्त आधार छ ।

कम्पनीको आधारभुत र बित्तीय अबस्था नजाँची हल्लै हल्ला र अरुको लहै लहैमा लागेर सेयर कारोबार गर्दा हिमालय डिष्टीलरीमा जस्तै फसिने संभावना जहिले पनि हुन्छ । यस घटनाले सेयर बजारमा कर्नरिड. कसरी हुन्छ भन्ने प्रष्ट चित्र देखाएको छ ।  नेपालका सेयर बजारका लगानीकर्ताहरुका लागि हिमालय डिष्टिलरी एउटा पाठ हो । अब पाठ पढ्ने कि अरुलाई गाली गर्न थाल्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here