काठमाडौ ।  नेपाल स्टक एक्सचेन्जमा केही दिन यता लगातारको गिरावट आउँदा अधिकांश लगानीकर्ताहरुमा हतासा बढ्दै गएको देखिएको छ ।

खासगरी बजारमा ठूलो हिस्सा रहेको बाणिज्य बैंक समूहका सेयरहरुको मूल्य घट्दा सेयर दलालको कार्यालयमा भीड कम हुँदै गएको छ । कम्पनीहरुले अघिल्लो बर्ष भन्दा गत बर्ष आफ्नो अबस्थामा गुणात्मक परिवर्तन ल्याएर आकर्षक प्रतिफलको घोषणा गर्ने क्रम बढाउँदा कतिपय लगानीकर्ताहरु निराश हुँदै सेयर बेचिरहेका छन् ।

राम्रा कम्पनीको सेयरको भाउ घटेर न्युन बिन्दुतर्फ आउँदै गर्दा दीर्घकालीन लगानी गर्नेहरुले छानी छानी सस्तो मूल्यमा किन्नु पर्ने हो तर छोटो समयका लागि सेयरको ब्यापार गर्नेहरुले साधारण लगानीकर्ताहरुलाई अत्याउने गतिबिधि गरेकाले समग्र बजार ओरालो लाग्ने क्रम तीब्र बनेको देखिएको छ ।

बिहीबार नेप्सेमा १८.३३ अंकको गिरावट हुँदा झण्डै ८५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमको आधारमा हेर्दा निराश हुनुपर्ने अबस्था छैन । सबैभन्दा धेरै बीमा कम्पनीहरुको सेयर मूल्य घटेको छ भने सबै समूह सूचकहरु ओरालो लागेका छन् ।

एक साताका बीचमा नेप्से सुचक ५० अंक र समग्र बजार पूँजीकरण ६० अर्बले तल आएको छ । अहिले नेप्से १६८० र समग्र बजार पूँजीकरण १८ खर्ब ६३ अर्बमा खुम्चिएको छ ।

अधिक आपुर्तिलाई बजारले थेग्न नसकेको देखिएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर पारिदिँदा बजार सूचक तल आएको छ । यस्तो बेलामा दीर्घकालीन लगानीकर्ताले आफ्नो बचत र जोखिम बहन क्षमताको आँकलन गरी राम्रो कम्पनीको सस्तो सेयरमा लगानी बढाउनु पर्ने हुन्छ ।

१५ प्रतिशत बोनस सेयर बाँड्नसक्ने क्षमताका बाणिज्य बैंकको सेयर प्रति कित्ता २५० रुपैयाँमा किनेर दीर्घकालीन लगानी गर्दा भबिष्यमा कमाउने संभावना धेरै छ । २७ देखि २९ प्रतिशतसम्म बोनस पक्का दिने बाणिज्य बैंकको सेयर मूल्य ४३० मुनि आउँदा नकिने कहिले किन्ने ?

दीर्घकालीन हिसाबले हेर्दा छ सय रुपैयाँ सम्म मूल्य भएका बाणिज्य बैंक र एक हजार पाँच सय रुपैयाँ भन्दा मुनीका बीमा कम्पनीहरु दुबै बर्गमा लगानी बढाउनु उचित छ । बजार घट्दा निराश हुने हैन आशाबादी हुनेहरुले नै अन्तिममा जित्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here