काठमाडौ । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्ने हरेक लगानीकर्ताले कर कार्यालयमा दर्ता भएर स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने ब्यवस्था आउने बर्षदेखि अनिबार्य गर्ने भएको छ ।

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमबारे जानकारी गराउन बोर्डले बिहीबार जारी गरेको प्रेस बिज्ञप्तिमा आर्थिक बर्ष २०७५ । ०७६ देखि प्यान नम्बर अनिबार्य गरिने उल्लेख छ । बोर्डले त्यसका लागि यसै बर्ष आबश्यक नीतिगत ब्यवस्था गर्ने भएको छ ।

बोर्डले यस बर्ष बढ्दो अर्थतन्त्र र पुँजी बजारको विस्तारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेन्ज संचालनका लागि सहजीकरण गर्ने योजना अघि सारेको छ । हालको नेपाल स्टक एक्सचेन्जको सबलीकरण गर्ने कुनै बुँदा नराखी बोर्डले नयाँ स्टक एक्सचेन्जमा जोड दिएको हो ।

त्यस्तै बोर्डले ईन्टरनेट मार्फत धितोपत्र खरिद विक्री आदेश दिन सक्ने व्यवस्था कार्यान्वयमा ल्याउने कुरामा जोड दिएको छ । पूर्ण अनलाईन सेयर कारोबार प्रणाली लागु गर्ने बिषयमा स्पष्ट योजना अघि सारिएको छैन ।

धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र मार्जिन ट्रेडिङ्ग, धितोपत्र व्यापारी सेवा विस्तार सम्बन्धमा अध्ययन गरिने कार्ययोजना बोर्डले बनाएको छ ।

त्यसैगरी भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्ड सम्बन्धी अध्ययन गरी आवश्यक नियम बनाउने र सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी योजना प्रवेश गराउने योजना पनि बोर्डले अघि सारेको छ ।

बोर्डले कमोडिटी बजारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ प्रमाणिकरण भई आएकाले नियमावली बनाई सो बजारलाई नियमनको दायरामा ल्याउने भएको छ ।

त्यस्तै धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका लगानी कम्पनीहरुलाई नियमनको दायरामा ल्याउन कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय स्थापित गरी आवश्यक कार्य अगाडि बढाईने भएको छ ।

बोर्डले आफ्नो ५१ प्रतिशत सेयर भएको धितोपत्र बजार प्रशिक्षण संस्था स्थापना गर्ने भएको छ । त्यस्तै धितोपत्र ब्यवसायीहरु र सुचिकृत कम्पनीहरुको संस्थागत सुशासन राम्रो बनाउन अनुगमन र निरीक्षणको कृयाकलाप तीब्र पारी नीति नियम कार्यान्वयनमा कडाई गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here