तिलक कोइराला

सेयर बजारमा ब्यापार गर्छु भनेर छिर्ने केही ब्यक्ति र समूहले चलखेल गर्दा आम सर्वसाधारण लगानीकर्ताहरुमा भागदौड मच्चिने गरेको छ । सेयर बजार बढ्न थाल्दा किन्न उक्साउने र घट्न थाल्दा अत्याँएर बेच्न बाध्य पार्ने त्यो समूह बिभिन्न रुपमा क्रियाशील छ र उनीहरुले आम सर्बसाधारण लगानीकर्ताहरुमा त्यही अनुसारको मनस्थिति तयार पार्न अनेक हथकण्ठा प्रयोग गरिरहेका छन् । अहिले भईरहेको घटनाक्रम पनि त्यही हो ।

अत्यधिक आपुर्ति

साधारण सेयर (आईपीओ) , नयाँ थप साधारण सेयर (एफपीओ), हकप्रद र बोनस सेयर सुचिकृत भएर आउँदा आपुर्ति बजारले धान्नै नसक्ने गरी बढेको छ । केही कम्पनीहरुले संस्थापक सेयरलाई साधारणमा बदलेर बजारमा ल्याएका छन् भने लिलामबाट आएको सेयरले पनि माग र आपुर्तिको सन्तुलनलाई नराम्ररी भत्काईदिएको छ । केही लगानीकर्ताले यही पहिलो त्रैमासलाई सेयर बेच्ने समय भनी लक्ष्य किटान गर्दा पनि आपुर्ति बढेको बुझ्न सकिन्छ ।

यही मौकामा सर्बसाधारण लगानीकर्ताको मनोबल कमजोर पारिएपछि सेयर बजारमा पहिरो जाने नै भयो । अत्याउने खेल खेल्न पनि त्यो समूहलाई सजिलो भएको छ । नेप्से १६०० अंक तल आएर आकाश खस्ने हैन तर लगानीकर्ताले आफुसँग रहेको सेयरको भाउ कति घट्यो भनेर हेर्नु महत्वपूर्ण कुरा हो । तर चलखेल गर्ने समूहले नेप्से घटेको बहानामा सर्बसाधारण लगानीकर्तालाई अत्याईरहेको छ । कारोबार रकमले त आँत्तिनुपर्ने देखाएको छैन ।

लगानीकर्ता हैन, ब्यापारी हावी हुँदाको परिणाम

सेयर ब्यापारीहरुको ब्यवहार अचम्मको हुन्छ । बजार घट्न थालेपछि उनीहरु सेयर किन्नै छाड्छन् र झ्न घट्ने भयो भने बेचेर बस्छन् । बजार जबसम्म घटिरहन्छ उनीहरुले सेयर किन्दैनन् र जब धेरै घटेर न्युन बिन्दुमा आई बढ्ने संकेत गर्न थाल्छ तब उनीहरुले सकेसम्मको सेयर किन्छन् । एकैदिन पाँचm दश करोडको सेयर एउटैले उठाउँछ । आफुले सेयर किनिसकेपछि अब बजार बढ्छ भनेर हल्ला गर्न थाल्छन् र सेयरको मूल्य बढाउनलाई अनेक हथकण्ठा अपनाउँछन् । सेयर दलालहरुको कार्यालयमा मान्छे पठाएर हल्ला गरिन्छ । सर्बसाधारण लगानीकर्ता फस्ने भनेको यस्तै हल्ला चलाएर बजार धेरै बढाएको बेलामा हो । सेयर बजार औधी बढ्यो रे भन्ने हल्ला संचार माध्यमहरुबाट जब छरप्रष्ट हुन्छ, त्यसपछि सर्बसाधारण लगानीकर्ता उचालिएको मूल्यमा सेयर किनेर फस्छन् ।

अहिले सेयर बजार दिनदिनै घटेको बेला धेरै सेयर दलालहरुको कार्यालयमा लगभग सुनसानको अबस्था देखिन्छ । फाट्टफुट्ट देखिने लगानीकर्ताहरु पनि निराश हुँदै र बजार घट्यो भन्दै बिलौना गरिरहेका हुन्छन् । किन्ने भन्दा बेच्नेकै संख्या धेरै छ ।

जब बजार बढ्न थाल्छ, अहिले लाखापाखा लागेका लगानीकर्ताहरु ओईरिएर सेयर दलालको कार्यालय खचाखच भरिन्छ । बजार धेरै अंकले बढेर हरियै भएको बेला त सेयर दलालको कार्यालयमा खुट्टा राख्ने ठाउँ समेत हुँदैन । सबै किन्ने मात्रै हुन्छन् । त्यो बेला मलाई फलानो ब्रोकरले सेयर किनिदिएन भनेर गुनासो गर्नेहरु थुपै्र भेटिन्छन् ।

राम्रो कम्पनीको सस्ता सेयर किन्ने अवसर

अहिले सेयर बजार धेरै घटेकाले घटाईको असर सबैलाई परेको छ तर दुई बर्ष अगाडि मध्यमस्तरका बाणिज्य बैंक र बीमा कम्पनीहरुको सेयर सस्तोमा किनेकाहरु मध्ये कसैलाई पनि घाटा छैन । अहिले बजार घटेर तल्लो बिन्दुतर्फ आएको बेला राम्रो कम्पनीको सस्तो सेयर किनेर बस्नेहरुलाई पनि केही घाटा हुने छैन । अहिले बजार घटेको बेला आतंकित हुने छैन, छानी छानी राम्रो कम्पनीको सस्ता सेयर उठाउने बेला हो । यसलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्छ ।

१० देखि २८ प्रतिशतसम्म बोनस सेयर दिने बाणिज्य बैंकको सेयर २३० देखि ४३० रुपैयाँको मूल्यमा किन्नेलाई दीर्घकालीन लगानीको हिसाबले धेरै फाईदा हुनेछ । त्यस्तै मध्यम मूल्य भएको र राम्रो प्रगति गर्ने बीमा कम्पनीको सेयर प्रति कित्ता १५०० सम्मको मूल्यमा किनेर ३, ४ बर्षका लागि लगानी गर्नेहरुका लागि पनि फाईदा नै हुनेछ । तर पूँजी आधार र कमाई नभएका लघुबित्त, जलबिद्युत कम्पनी र अन्यको सेयर मूल्य उचालिएर किन्नेहरुको बारेमा केही भन्न सकिन्न । उनीहरु संभवत अल्पकालीन वा दीर्घकालीन दुबै हिसाबले गंभीर खालको जोखिममा हुनसक्छन् ।

कम्पनी छनौटमै खोट

राम्रो लाभांश दिने बलियो कम्पनीको सस्तो सेयर किन्नतिर भन्दा पनि कमजोर कम्पनीको सेयर मूल्य छिटो बढ्ने महंगो सेयर किन्नतिर लागेपछि यस्तो आपत् आई पर्दा पछुताउने नै हो । सेयर बजारका अधिकांश लगानीकर्तामा यही रोग छ । लगानीकर्ताले कम्पनीले राम्रो लाभांश दिन्छ भनेर लगानी गर्ने हो । सेयरको मूल्य कति बढ्ला भनेर लगानी गर्न थालेपछि घटेको बेला रुवाबासी गरेर कुनै फाईदा छैन । कर्म अनुसारको फल प्राप्ति हुन्छ भने झै सेयरको मूल्य बढ्ने आश मात्रै गरेर सेयर किनेपछि घट्दा पनि घाटा सहने क्षमता हुनैपर्छ । नेपाल ईन्भेष्टमेन्ट बैंक छाडेर ग्रिन डेभ्लपमेन्ट बैंक र छिमेक लघुबित्त हैन नयाँ नेपाल छानेपछि नेपाल इन्भेष्टमेन्न्ट बैंक, कृषि बिकास बैंक, आरएमडीसी र छिमेकले दिने सुरक्षा कहाँ पाईन्छ र ?

बजारको नियम बुझौ

सेयर बजारको चरित्र नै तलमाथि भईरहन्छ । आपुर्ति बढ्यो, माग बढेन भने मूल्य घट्छ । सेयर बजारको चरित्र नबुझेका र कम्पनीको आधारभुत अबस्था, उसले दिने लाभांश र भबिष्यको संभावना नहेरी ब्यापार गर्न खोज्नेहरुले जोखिमपूर्ण रुपमा गरेको लगानी डुब्दा भएको रुवाबासीप्रति धेरै चिन्ता गर्नुपर्दैन । उनीहरुले ब्यापार गर्दा एउटा कम्पनीबाट अहिले घाटा खाए पनि भोलि अर्को कम्पनीबाट उठाउँछन् । मुख्य प्रश्न यो कि अहिलेको बजार घटाईमा आम सर्बसाधारण लगानीकर्ता कति फसेका छन् र कति जोखिममा छन् ? सबैभन्दा ठूलो चिन्ताको बिषय नै यही हो । चार जना सेयर ब्यापारी फसेर केही हुन्न, चार लाख सर्वसाधारणको लगानी फस्यो भने ठूलो चिन्ताको बिषय हुनुपर्छ । रातारात करोडपति हुन्छु भनेर सेयर बजारमा ब्यापार गर्न आएकाहरुले चेत्नु नै पर्छ तर दीर्घकालीन लगानी गर्नेहरुको लगानी डुब्न दिनुहुन्न ।

प्राबिधिक बिश्लेषण र ज्योतिषीको भर नपरौं

केही प्राबिधिक बिश्लेषक र ज्योतिषहरुको भुमिकाले पनि लगानीकर्ताको मनोबल कमजोर पार्न अहिले भुमिका खेलेको छ । केही प्राबिधिक बिश्लेषकहरु नेप्सेको कुनै बिन्दुलाई देखाउँँछन् र यहाँ भन्दा तल आयो भने सेयर बजार धेरै घटछ भनेर लगानीकर्ताको मनोबिज्ञान तयार पार्ने प्रयास गर्छन् । बिकशित सेयर बजारमा उनीहरुले बाँडेको सेयर बजार सम्बन्धी बिश्लेषणको सुत्रले धेरै काम गर्ला तर हाम्रो जस्तो हल्लाको भरमा चल्ने बजारमा उनीहरुको प्राविधिक बिश्लेषण गहिरो तलाउमा ढुंगा फाल्नु जस्तै हो ।

आधारभुत कुरामा नचलेर २० रुपैयाँ प्रतिसेयर आम्दानी भएको कम्पनीको सेयर मूल्य तीन हजार र २६ रुपैयाँ प्रतिसेयर आम्दानी भएको कम्पनीको मूल्य चाही ४०० रुपैयाँ भन्दा तल रहेको बजारमा यसै हुन्छ भन्नै सकिन्न ।

सेयर मूल्य कम भएका बाणिज्य बैंक र मध्यमस्तरका बीमाहरुको सेयर लिएकाहरुले कुनै चिन्ता नगरी बसे हुन्छ । बजार सुधार, बिकास र बिस्तारका धेरै संभावनाहरु छन् । कम्पनीहरुको अबस्था, कारोबार, नाफा, पूँजी बजारको फैलावट, प्रबिधि जडान, देशको अर्थतन्त्र, मौद्रिक अबस्था, राजनीति सबै कुराले आशावादी नै बनाउँछ । अलिकति धैर्य गर्ने हो भने सुखद दिनहरु टाढा छैनन तर धैर्य नै गर्न नसक्ने र सेयर बेच्न भागदौड गर्ने हो भीडमा किल्चिएर मर्नु सरह हो । भागदौडको भीडबाट बचेर सुरक्षित लगानी गर्न हो भने अहिलेको सेयर बजारबाट दीर्घकालीन फाईदा लिन सकिने अथाह संभावना छ ।

हकप्रदमा उचालिनु महाभूल

केही लगानीकर्ताहरुले हकप्रदको नाममा उचालिएर सेयर किने र अहिले समस्यामा परेका छन् । हकप्रदको लोभमा मूल्य उचालिएर सेयर किन्ने हरेकलाई घाटा छ । केहीले बजारमा माग र आपुर्तिको संख्या हेरेर मूल्य उचाल्ने खेल खेले, साना कम्पनीहरुमा उनीहरु फसेका छन् । केहीले धेरै संख्यामा सेयर उठाएर मूल्य माथि पुर्याउँछु भनी मुर्ख सोचाई बनाएर सेयर थुपारे, मूल्य तल आएपछि उनीहरु फसेका छन् । केही चाँही दीर्घकालीन लगानी गर्छु भन्दाभन्दै पनि भए भरको पैसार्ले एकैचोटी एउटै कम्पनीको सेयर किनेर फसेका छन् । कसैलाई बैंकको कर्जाले च्यापेको छ त कसैलाई हकप्रद भर्ने पैसा नभएर च्यापेको छ । जो जसरी च्यापिएको भए पनि अहिले अधैर्य भएर राम्रो कम्पनीको सेयर घाटा खाएर बेचे भने उनीहरु सधैका लागि फस्ने छन् ।

आम लगानीकर्तालाई बचाउनु जरुरी

नेपालको सेयर बजारलाई सुरक्षित बनाउने हो भने सेयर ब्यापारी वा सट्टेवाजहरुको पहिचान गरी उनीहरुले चलाउने अफवाहबाट सर्बसाधारण लगानीकर्ताहरुलाई बचाउनु अति जरुरी छ । कम्तिमा १० वटा राम्रा कम्पनीमा डाईभर्सिफाई लगानी, आफ्नो जोखिमबहन क्षमता हेरी लगानी गर्न र हल्ला तथा बहकाउबाट बच्न आम सर्बसाधारण लगानीकर्तालाई प्रशिक्षित गर्नु परेको छ । पत्रिका वा अनलाईनको समाचार शीर्षक मात्रै हेरेर सेयर किनबेच गर्ने प्रबृति अबलम्बन नगरी आफैले अध्ययन, बिश्लेषण र सुझबुझपूर्ण ढंगले लगानी गर्न प्रोत्साहित गर्नु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here