तिलक कोइराला ।
प्राथमिक शेयर अर्थात आईपीओ भन्ने बित्तिकै दश हात उफ्रिएर भए भरको रकम लगानी गर्नेहरुलाई पछिल्ला दिनहरुमा लगातार बिक्रीमा आईरहेका हाईड्रोपावर कम्पनीहरुको शेयरमा लगानी सूवर्ण अवसर बनेको छ । तुलनात्मक रुपमा केही रकम लगानी गर्न हुने देखि बर्षौसम्म लाभांश नपाउँने र दोस्रो बजारमा शेयर सूचिकरण हुने बित्तिकै आईपीओमा हालेको मूल्य भन्दा घटाएर बेच्नुपर्ने खालका हाईड्रोको शेयरको बाढी नै आएको छ । कतिपय कम्पनीहरु आईपीओ नबिकेर हैरान छन् । यस्तो अवसरलाई आईपीओमा रकम फसाएर पछुताउन चाहनेहरुका लागि सुवर्ण नै मान्नुपर्छ ।
देश बिकासका लागि हाईड्रोपावरहरुको निर्माण अति आबश्यक र सरकारले नै आब्हान गरेको भए पनि सर्बसाधारण लगानीकर्ताले होस्टेमा हैसै पनि गर्नुपर्छ तर आफ्नो लगानी क्षमता र प्रतिफल नहेरी लगानी गर्दा शेयर बजारबाट लिन सकिने प्रतिफलबाट बंचित हुनुपर्छ । त्यसैले भावनामा बगेर लगानी गर्नबाट सतर्क होऔं ।
अहिले रसुवागढी र सान्जेन जलविद्युतले आईपीओ बिक्रीमा ल्याएको सन्दर्भमा सर्बसाधारणले कम्तिमा १० कित्ताका लागि आबेदन गरेर सहभागिता जनाउँन सक्छन् तर आफुसँग भएको सबै पैसा यही आईपीओमा खन्याएर बजारका अरु तलनात्मक लाभका कम्पनीहरुमा लगानी गर्नबाट बंचित हुनु भने मुर्खतापूर्ण नै हो । यी दुई कम्पनी नुवाकोट र रसुवामा आयोजना निर्माण गरिरहेका र त्यो पुरा हुन अझै एक बर्ष लाग्ने हुँदा कम्तिमा तीन बर्ष यता कुनै लाभांश पाईदैन । चिलिमेले प्रबद्र्धन गरेका र जनताको जलविद्युत कार्यक्रममा समेटिएको भए पनि यसबाट सर्बसाधारणले कहिले लाभ पाउँछन् भन्ने कुरा मुख्य हो ।
शेयर सूचिकरण हुने बित्तिकै दोस्रो बजारमा बेचेर नाफा गरौला भन्ने सोच हो भने पनि दोस्रो बजारमा हाईड्रोको धेरै कित्ता शेयर हुनु, एकपछि अर्को कम्पनीको आपुर्ति थपिनु, यी दुई कम्पनीको नै डेढ करोड भन्दा बढी कित्ता शेयर बजारमा बिक्रीमा आउने हुनु लगायतले मूल्य कति कायम रहला भन्ने प्रश्न छदैछ । दोस्रो बजारमा बेचेर फाईदा गरौला भन्ने सोचाईले हाईड्रोपावरको आईपीओमा लगानी गर्नु घातक छ । कम्तिमा तीन बर्ष हात बाँधेर बस्छु, त्यसपछि कम्पनीले दिने लाभांश खाएर चित्त बुझाउँछु भन्ने हो भने मात्र राम्रा खालका हाईड्रोपावरमा लगानी सुरक्षित हुनसक्छ । त्यो जोखिमबहन र लगानी क्षमता तपाइँसँग छ कि छैन ?
शेयर बजार माग र आपुर्तिमा आधारित भएर चल्छ । लगानीकर्ताको संख्या कम भयो, लगानीमा आउने रकम थोरै छ तर शेयरको संख्या धेरै छ भने दोस्रो बजारमा मूल्य घट्छ नै । त्यसमाथि कम्पनीले दिने लाभांश र अरु आधारभुत कुराहरुले पनि उत्तिकै प्रभाव पार्छन । लगानीकर्ताको मनोबल पनि त्यत्तिकै महत्वपूर्ण पाटो हो । हाईड्रोपावरमा लगानी गर्नेहरु अहिले निराश बनेको अबस्थामा शेयरको मूल्य बढ्छ नै भन्ने ग्यारेन्टी छैन ।
अघिल्ला बर्षहरुदेखि लाभांश दिदै आएका र यसै बर्षको कमाईबाट पनि लाभांश दिनसक्ने कयौं कम्पनीहरुको शेयर मूल्य दोस्रो बजारमा १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म मज्जाले पाईराखिएको अबस्थामा तीन बर्षपछि लाभांश दिनसक्ने कमजोर संभावना भएका कम्पनीको आईपीओमा भएभरको पैसा खन्याएर लगानी गर्नु मुर्खता नै हो । तपाइँ शेयर बजारमा लागेर गुमाउँन चाहनुहुन्न भने विवेकपूर्ण निर्णय गर्नेपर्छ । हैन, भावनामा बगेर लगानी गर्न आउनु भएको हो, सरकार र अरु पक्षले उक्साएकै भरमा लगानी गर्दै हुनुहुन्छ भने तपाइँले भोग्ने क्षतिको पुर्ति उनीहरुले गर्ने छैनन् । आफ्नै अध्ययन, बिश्लेषण, क्षमता र जोखिम हेरी शेयर बजारमा लगानी गर्नुहोस् ।
आईपीओ हात पारिएको शेयर धितोमा राखेर तत्काल शेयर धितो कर्जा लिन सकिदैन भने मार्जिन ट्रोडिड।मा पनि यस्ता शेयर काम लाग्दैनन् । दोस्रो बजारमा किन्नेहरुकै अभाव हुँदा यस्तो शेयर बेचेर आर्थिक समस्या टार्न पनि गाह्रै हुन्छ । बजारमा जतिमा किन्न बसेका छन्, त्यतिमै बेच्नुपर्ने बाधयता हुन्छ ।
भावनामा बगेर लगानी गर्दै नगरौं, नत्र नसोचेको क्षति र दुराबस्था भोग्नुपर्छ । शेयर बजार भन्ने बित्तिकै आईपीओ मात्रै भनेर बुझ्ने र आईपीओमा जत्ति लगानी गरे पनि डुबिदैन भन्ने सोच राख्ने तथाकथित बिद्धानहरुको पछि नलागौं । सुरक्षित लगानी गरौं ।