शेयर बजारमा जलविद्युत कम्पनी अर्थात हाईड्रोपावरहरुको प्राथमिक शेयर आउने क्रम जारी रहँदा तीन बर्गका कम्पनीहरुको शेयर मूल्य पनि दुब्लाउँदै गएको छ ।

दोस्रो बजारमा अहिले २४ वटा जलविद्युत कम्पनीहरुको शेयर कारोबार भईरहेकोमा अधिकांशको आईपीओ मूल्य बराबर वा त्यो भन्दा तल्लो बिन्दुमा आईपुगेको छ ।

आईपीओ भन्दैमा जिन्दगीभरि कुनै लाभांश दिन नसक्ने कम्पनीको शेयरमा जथाभावी लगानी गरेर दोस्रो बजारमा घाटा खाई शेयर बेच्नुपर्ने अबस्था आईसकेको हुँदा लगानीकर्तामा सचेतता जरुरी देखिएको छ । अहिलेकै शेयर बजारमा हेर्ने हो भने पनि छ वटा हाईड्रोपावर कम्पनीको शेयर मूल्य लगानीकर्ताले आईपीओमा हालेको अंकित मूल्य भन्दा तल आएको छ भने आठ वटा कम्पनीहरुको शेयर मूल्य आईपीओ लागत मूल्य आसपास छन् भने १० वटा कम्पनीहरुको मात्र शेयर मूल्य केही माथि देखिन्छन् । शेयर मूल्य तल रहेका कतिपय कम्पनीहरु पनि लाभांश दिनसक्ने क्षमताका छन् ।

दोस्रो बजारमा शेयर मूल्य कति हुन्छ मतलव छैन, लाभांशको आधारमा आईपीओमा दीर्घकालीन लगानी गरेको हो भनेर कसैले भन्छ भने पनि बहुसंख्यक कम्पनीहरुले आउँदो केही बर्षसम्म कुनै लाभांश दिन सक्ने छैनन् । कतिपय त जिन्दगीभरि नै लाभांश बाँड्न सक्दैनन् ।

सरकार र धितोपत्र बोर्डले सकेसम्मका खराब हाईड्रो कम्पनीहरुलाई आईपीओ बिक्री गर्न दिएर दोस्रो बजारलाई समेत संकटको डिलमा पुरयाईरहेका छन् । कुनै प्रत्यक्ष नियमनकारी निकाय नभएको, संस्थागत सुशासन अति खराब रहेको र प्रति मेगावाट लागत धेरै भएको कम्पनीको आईपीओ किन्नु नदुखेको टाउको बेकारमा दुखाउनु नै हो । त्यसैले आईपीओ भन्दै खराब कम्पनीमा लगानी गरेर दुख गरेर कमाएको पैसा खोलामा बगाउनु भन्दा अगाडि १० पटक सोच्नैपर्ने अबस्था आएको छ ।

अझै २०० कम्पनीहरुको आईपीओ बिक्रीमा आउँदा के होला ? तसर्थ कुनै पनि आईपीओमा लगानी गर्नुअघि लागत र लाभांशको अबस्था विचार गरी शेयरको माग र आपुर्तिमा पनि उत्तिकै ध्यान पुर्याउनु अति आबश्यक हुन गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here