तिलक कोइराला ।

नेपालको सेयर बजारमा पछिल्लो समय जलविद्युत (हाईड्रोपावर) कम्पनीहरुको दबदबा बढेर गएको छ । पाँच बर्ष अघिसम्म चिलिमे, बुटवल पावर, अरुण भ्याली , नेशनल हाईड्रो, अपी लगायतका सिमित कम्पनी मात्र सूचीकृत रहेकोमा अहिले सूचीकृत हाईड्रोपावरको संख्या ५७ नाघिसकेको छ ।

हरेक साता जस्तो नयाँ हाईड्रोपावर कम्पनीहरुले आईपीओ जारी गर्ने क्रम बढेर गएको छ । १७ वटा हाईड्रोपावर कम्पनीहरु धितोपत्र बोर्डमा निवेदन पेश गरी साधारण सेयर बिक्रीका लागि लाम लागेर बसेका छन् । यही बर्षको अन्तिमसम्ममा सूचीकृत हाईड्रोपावरहरुको संख्या एक सय नाघ्नसक्छ । अहिले २ सय २४ वटा कम्पनीहरु दैनिक कारोबारमा आईरहेको अवस्थामा ५७ वटा हाईड्रोपावर कम्पनीको हिस्सा २५ प्रतिशत  हो ।

कम्पनीहरु सूचीकृत हुने र सेयर संख्य थपिने हुँदा पूँजी बजारमा आपुर्ति बढेर जान्छ, सोही अनुपातमा नयाँ लगानकिर्ताहरु सेयर बजारमा प्रबेश गरी खरिद चाप पनि बढेन भने मूल्यमा सिधा असर पर्ने हुन्छ । तीन बर्ष अघि पूँजी बजारमा सूचीकृत हुन आएका धेरै निजी क्षेत्रका कम्पनीहरुका संस्थापक, कर्मचारी र स्थानीयबासीले आफ्नो सेयरलाई साधारण बनाई दोस्रो बजारमा बिक्री तीब्र पार्दा मूल्यमा अझ बढी असर पर्ने हुन्छ ।

हाईड्रो तथा अन्य कम्पनीको लकिड. पिरियड खुलेर ७० प्रतिशत थप सेयर दोस्रो बजारमा बिक्रीमा आउँदा पहिले महंगोमा सेयर किनेकाहरुले थाम्न नसकिने घााटा खाने कुरा सामान्य बनेको छ ।

हाईड्रोपावर कम्पनीहरुले अर्को आयोजना बनाउँन संस्थापक र साधारण सेयरधनीहरुलाई थप पूँजी हाल्न हकप्रद आब्हान गरेर सूचीकृत गराए भने बजारमा आपुर्ति झन् बढेर जान्छ र सेयरको मूल्यमा असर पर्छ । माग र आपुर्तिको सन्तुलन नमिल्दा मुल्य बढ्ने वा खस्कने स्वभाविक प्रबृत्ति हो । त्यसैले हकप्रदको सूचनालाई कसरी लिने भन्ने कुरा लगानीकर्ताको स्वविवेककै कुरा हो । अहिले दैनिक कारोबार रकम खुम्चिएर एक अर्ब भन्दा कम भएको र नयाँ लगानकिर्ता प्रबेश गर्ने हैन, बजारबाट बाहिर निस्कने क्रम नै बढेकाले हकप्रदको कुराले झन् बिकर्षण सिर्जना गरेको देखिन्छ ।

सेयरको माग र आपुर्तिको सन्तुलन मिलेन र मूल्य खस्कियो भने पनि कम्पनीले दिने लाभांशको आश लगानीकर्तालाई हुनुपर्छ । अहिले सूचीकृत हाईड्रोपावर मध्ये आधा भन्दा बढीले केही बर्षसम्म कुनै लाभांश दिन नसक्ने अवस्था रहेकाले त्यसमा पनि विचार पुर्याउनैपर्छ ।

सेयर बजारलाई माग र आपुर्तिले असर पार्छ भन्ने कुरालाई ख्याल गर्ने हो भने चिलिमे, बुटवल पावर, सानिमामाई जस्ता पुराना र बलिया कम्पनीहरुको सेयर मूल्य घट्दै जाने तर नयाँ अर्थात भरखरै आईपीओ जारी गरेका कम्पनीहरुको सेयर मूल्य ह्वारह्वारती बढेको कुरालाई हेर्न सकिन्छ । कम्पनी जतिसुकै कमजोर भए पनि साना कम्पनीहरुको मूल्य माथि नै रहेको देखिन्छ ।

त्यसैले सेयर बजारमा लगानी गर्दा  आफ्नो लगानी रणनीति, जोखिमबहन क्षमता, कम्पनीको अबस्था, सेयर बजारमा हुने नीतिगत परिवर्तनले पार्ने असर, लगानीकर्ताहरुको मनोबललाई मुख्य आधार बनाएर जानैपर्छ । बेलामा नाफा सुरक्षित गर्ने कुरामा चुकियो भने पनि लामो समय पछुताउनुपर्छ । सेयर बजार भनेको धेरै जोखिमको क्षेत्र भएकाले दोस्रो बजारमा आउने ९० प्रतिशत भन्दा बढी मानिसहरुले कुनै न कुनै कालखण्डमा गुमाएकै हुन्छन् । यो कुरा हाईड्रोपावरको क्षेत्रमा पनि देखिन्छ ।

(यो विशुद्ध अनुभवमा आधारित अभिब्यक्ति हो, कुनै कम्पनी वा सेयरको मूल्यमा प्रभाव पार्न लेखिएको हैन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here