तिलक कोइराला ।

देशमा जलबिद्युत आयोजनाहरु निर्माण गर्ने नाममा निजी प्रबद्र्धकहरुले दलाललाई २५ प्रतिशतसम्म कमिशन दिएर रकम संकलन गर्ने बिकृति फैलिएको छ । सेयर बजारका बारेमा जान्दै नजानेका सर्बसाधारणहरुलाई गुमराहमा पारेर रकम संकलन गर्नेहरु स्वदेश र विदेशमा सक्रिय रहँदा लाखौं नेपालीहरुको अर्बौ रकम जोखिममा परेको छ ।

विदेशिएका नेपालीहरु ठगीको मारमा

केही महिनाअघि घादिड. जिल्लामा हाईड्रोपावर निर्माण गर्ने भन्दै दुबईमा बैदेशिक रोजगारी गर्ने नेपालीहरुबाट १० करोड रुपैयाँ संकलन गरिएको थियो । त्यसमा चर्को कमिशनको खेल भएको कुरा बाहिर आएको छ । सुपर आँखुखोला हाईड्रोपावर निर्माण गर्ने भन्दै त्यसरी संकलन गरिएको रकमको सदुपयोगमा शंका गर्ने प्रशस्त ठाउँ छ किनभने त्यसका प्रबद्र्धक पहिले नै अर्को आयोजनालाई डुबाएर करोडौ रकम तलमागि गरेका ब्यक्ति हुन् ।

सोझा नेपालीहरुले खाँडीको मरुभुमिमा चर्को घामको सामना गरी रगत पसिना बगाउनुका साथै ज्यान समेत जोखिममा पारेर कमाएको पैसा बदमासहरुले हात पार्ने र कमिशन खाने जत्तिको घृणायोग्य कुरा केही पनि हैन ।

दक्षिण कोरियाको सोलबाट राजाराम बुर्लाकोटीले सेयर लगानी डटकमलाई बताए अनुसार नेपालमा हाईड्रोपावर बनाउने भन्दै हजारौं नेपालीहरुबाट रकम संकलन गर्ने क्रम तीब्र बनेको छ । दलालहरुले २५ प्रतिशतसम्म कमिशन पाउने भएकाले अनेक बहानाबाजी गरेर कोरिया काम गर्न गएका नेपालीहरुबाट रकम संकलन गरी हुण्डीको सहायताले नेपाल पठाईदैछ । हाईड्रोपावर कम्पनीमा सेयरमा लगानी गर्ने भन्दै रकम उठाईए पनि कुन आयोजना हो र निर्माणको कुन चरणमा छ भन्ने कुरा धेरैलाई थाहा छैन ।

बुर्लाकोटी भन्छन्- एकलाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म रकम लगानी गर्ने नेपालीहरु थुप्रै छन् तर उनीहरु मध्ये कतिपयलाई रसिद र प्रमाण पत्र समेत उपलब्ध गराईएको छैन । बुझ्दै नबुझी रकम फसाउनेहरु थुप्रै छन् ।

उनका अनुसार रकम संकलन गर्नेहरु पैसा हात पारेपछि सम्पर्कमै नआउने घटना समेत बढेको छ । केही समय अघि दक्षिण कोरियामा म्याग्दीको आयोजनामा लगानी भन्दै ठूलो रकम संकलन गरेका ब्यक्तिहरु अहिले सयौंलाई फसाएर सम्पर्कविहिन बनेका छन् ।

स्वदेशमै फस्नेहरुको झन् बेहाल

हाईड्रोपावरको सेयर भन्दै बुझ्दै नबुझी रकम बुझाउनेहरु विदेशमा मात्रै हैन, स्वदेशमै पनि धेरै छन् । धादिड.मा ठूलो आयोजना बनाउने भन्दै केही समय अघि दलालहरुलाई कमिशन दिएर झण्डै दुई अर्ब रकम संकलन गरिएको थियो तर अहिले त्यो आयोजना नै नबन्ने निश्चित भएपछि तीन हजार भन्दा बढी सर्बसाधारणको विचल्ली हुन लागेको छ । सर्बसाधारणबाट रकम संकलन गरी कमिशन खाने दलालहरु आयोजना नै नबन्ने भएपछि सम्पर्कविहिन हुने क्रम बढेको छ ।

सो आयोजनामा सर्बसाधारणको रकम संकलन गर्न भुमिका खेल्ने एक दलालले सेयरलगानीसँग भने- मैले त अरुबाट संकलन गरेको पैसा कम्पनीको कार्यालयमा बुझाएको हो, आयोजना बन्दैन भन्ने सुनेको छु, मैले उनीहरुको पैसाको जिम्मेवारी लिन सक्दिन ।

सर्बसाधारणबाट संकलन गरिएको दुई अर्ब रुपैयाँ तलमाथि हुनु चानचुने कुरा हैन । आयोजना नबन्ने निश्चित भएपछि त्यो फिर्ता गर्नुपर्छ, त्यसो गर्न नसक्ने भएपछि प्रबद्र्धक र दलालहरु भाग्नु स्वभाविक हो तर सरकार र सर्बसाधारण बेलैमा सचेत नहुँदा ठूलो दुर्घटनाको खतरा छ ।

सेयरमा लगानी गर्ने भन्दै दलालहरुमार्फत रकम बुझाएकाहरुसँग रसिद समेत नभएको पाईएको छ । उनीहरुको रकम अब सधैका लागि गुमे सरह हो किनभने न त कहीं दावी गर्न मिल्छ न त, आयोजना नै बन्छ ।

सिन्धुपाल्चोकमा बनाउने भनिएको एउटा ठूलो आयोजनाका प्रबद्र्धकहरु सर्बसाधारणबाट पैसा उठाएर आफुखुशी खर्च गरी लाखापाखा लागेका छन् । अहिले सर्बसाधारणको रकम डुबेपछि उनीहरु न त जिम्मेवारी लिन्छन्, न त आयोजना बनाउन नै चासो दिन्छन् ।

सयौं सर्बसाधारणबाट पैसा उठाउने तर आफु, आफ्नी श्रीमति, छोरी, ज्वाइँ, बहिनी लगायतलाई संचालक समितिमा राखेर आफुखुशी निर्णय गराई रकम दुरुपयोग गर्ने विकृति मौलाएको छ ।

हाईड्रोपावर निर्माणका लागि संकलन गरिएको रकम सेयर बजार, घरजग्गा खरिद, सुन कारोबार, ब्यक्तिगत प्रयोजनका लागि गाडी खरिद, चन्दा, उपहार जस्ता अनुत्पादक र फजूल खर्चमा दुरुपयोग गर्ने क्रम पनि बढेको छ । कतिपयले नेपालमा हाईड्रोपावर बनाउने नाममा संकलन गरेर विदेश लैजान पनि भ्याएका छन् भने विदेश सयरमा समेत रकम दुरुपयोग गर्ने कयों छन् ।

दलाललाई किन दिईदैछ चर्को कमिशन ?

आयोजना बन्ने संभावना नभएका र बदनाम ब्यक्तिहरु संस्थापक रहेका कम्पनीहरुले विद्युत बिकास बिभागबाट सर्वेक्षण लाईसेन्स प्राप्त गरेको भरमा सर्बसाधारणलाई ठग्ने गतिबिधि गर्दै आएका छन् । त्यस्ता आयोजनाहरुमा जाने बुझेका सर्बसाधारणले लगानी नगर्ने हुँदा सोझा सर्बसाधारणलाई फसाई दलालमार्फत संस्थापक सेयर वापतको पैसा संकलन गर्ने गरिएको छ ।

दलालहरुले चर्को कमिशन नपाएसम्म रकम संकलनको काम नगर्ने हुँदा कम्पनीका प्रबद्र्धकहरुले जत्ति मागे पनि दिएर रकम संकलन गराईरहेका छन् । सर्बसाधारणलाई अनेक प्रलोभन दिएर रकम संकलन गरेपछि दलालहरु कमिशन लिएर उम्किने गरेका छन् ।

कम्पनीका प्रबद्र्धकहरुले दलाललाई दिएको कमिशन, आफुले लिने सित्तैको सेयर र मोजमस्तीमा गरेको खर्च कटाएर बच्ने रकमबाट आयोजना बनाउन नसक्ने हुँदा सर्बसाधारणको रकम जोखिममा परेको छ । कतिपयले मुस्किलले आयोजना बनाए पछि प्रति मेगावाट ३२ करोडसम्म लागत पर्ने गरेको छ, जुन आयोजनाले जिन्दगीभरि लाभांश दिन सक्दैनन् । कम्पनीको अबस्था चिन्ताजनक हुने भएकाले प्राथमिक सेयर (आईपीओ) निश्काशन गर्न समेत पाउँदैनन् । यस्ता आयोजनाहरुमा सर्बसाधारणको लगानी सधैका लागि फस्छ, प्रबद्र्धकहरुले अगाडि नै आफ्नो फाईदा लिईसकेका हुन्छन् ।

प्रत्यक्ष नियमनकारी निकाय नहुँदाको बेथिति

हाईड्रोपावर क्षेत्रमा पहिलेको ढुकुटी , नेटवर्किड. र ओरेन्टल सहकारीमा सर्बसाधारण फसे भन्दा पनि दयनीय अबस्था रहेको छ । प्रत्यक्ष नियमनकारी निकाय नहुँदा पहिले विभिन्न कम्पनी डुबाएकाहरु अहिले हाईड्रोपावर क्षेत्रमा प्रबेश गरेका छन् र सर्बसाधारणहरुलाई फसाएर अर्बौ रकममा बदमासी गरिरहेका छन् ।

बैंक, नेटवर्किड. र सहकारी क्षेत्रको कानुन कडा र नियमन प्रभावकारी हुन थालेपछि अब ठगीको नयाँ सुत्र हाईड्रोपावर बनेको हो ।

बैंकहरुसँग लगानी सम्झौता भएपछि हाईड्रोपावर कम्पनीमा ठगी र बदमासीको मात्रा केही कम हुने भए पनि बदमासहरुले त्यो भन्दा अगाडि नै लुट्नु लुटिसकेका हुनेछन् ।

प्रत्यक्ष नियमनकारी निकाय बनाउन सरकारले चासो नदेखाउँदा ईमानदारितासाथ हाईड्रोपावर आयोजना निर्माण गरिरहेका प्रबद्र्धकहरुलाई समेत बदनामीको डर बढेर गएको छ । केही बदमास प्रबद्र्धकहरुले सर्बसाधारणको पैसामा गरेको लुट, ठगी र मोजमस्तीले कयौं राम्रा आयोजना र प्रबद्र्धकहरुलाई समेत अफठेरो पारेको देखिन्छ ।
देशमा हाईड्रोपावर आयोजनाहरु निर्माण हुनु अति आबश्यक छ । यसका लागि सरकारले लगानीको खुकुलो नीति लिएको मान्न सकिन्छ तर त्यही खुकुलो नीति केही बदमासहरुका लागि ठगीको साधन बनिरहेको छ ।

मुख्य प्रश्न यही हो कि सरकार कहिलेसम्म रमिते भईरहन्छ र सर्बसाधारणहरु कहिलेसम्म ठगीको शिकार भईरहने छन् ?

नोटः स्केच ईन्टरनेटबाट लिईएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here