तिलक कोइराला ।

नेपाल धितोपत्र बोर्डमा असार १२ गते लगानीकर्ता संघहरुले गरेको सहमतिलाई लिएर विभिन्न खाले कुप्रचारहरु शुरु गरिएका छन् । कतिपय लगानीकर्ताहरु नै यस्तो कुप्रारको हतियार बनेर अनलाईन मिडिया र सामाजिक संजालमा छाउनुले थप भ्रम सिर्जना गरेको छ ।

केही अनलाईन मिडिया र लगानीकर्ताहरु शेयर बजार खोल्ने सहमति गर्नुलाई नै ठूलो अपराध को संज्ञा दिदै लगानीकर्ताका नेताले खत्तमै पारे भन्ने जसरी प्रचारबाजी गर्दैछन् । केहीले लगानीकर्ता संघका नेताहरु धितोपत्र बोर्डसँग झुके भन्ने प्रचारबाजी गरेका छन् भने केहीले अब उप्रान्त आन्दोलन नगर्ने भन्दै आत्म समर्पपण गरे भन्ने प्रचारबाजी थालेका छन् ।

सबैलाई स्पष्ट भाषामा निबेदन गर्छौ कि हामीले धितोपत्र बोर्डमा गएर अब कहिल्यै पूँजी बजार बिकास, विस्तार र सुधारको मामिलामा आन्दोलन नगर्ने कसम खाएका छैनौ र धितोपत्र बोर्डले पनि त्यसो गर्न भनेको छैन । गलत काम हुँदा विरोध र आन्दोलन गर्ने नैसर्गिक अधिकारलाई कसैले बन्देज लगाउँनै सक्दैन ।

कृपया राम्ररी पढ्नुहोस, हामीले के सहमति गर्यौं

हामीले त अब उप्रान्त कुनै पनि बहानामा धितोपत्रको दोस्रो बजार बन्द नहुने गरी बजार खोल्ने कुरामा पूर्ण सहमति जनाई असार १५ गते आईतबारदेखि नै बजार खोल्नुपर्छ भनेका हौ, त्यसलाई धितोपत्र बोर्डले पुरा स्वीकार गरी केही प्राविधिक काम गर्न समय लाग्ने भएकाले सोमबारसम्ममा बजार खोल्ने  बचन दिएको छ ।

कुप्रचार गर्नेहरुलाई हामी सोध्न चाहन्छौ कि के शेयर बजार विभिन्न बहानामा सधै बन्द भईरहनु पर्ने हो ? के अहिले बजार खोल्नै हुन्न ? अहिले बजार नखोल्दा कसको स्वार्थ पुरा हुन्छ ? के लगानीकर्ता धितोपत्र बोर्ड भन्दा ठूला हुन् ? बोर्डको निर्देशन लगानकिर्ताले मान्ने कि लगानकिर्ताको निर्देशन बोर्डले मान्ने ? पूँजी बजारलाई नीति, नियम, पूर्वाधार र प्रविधिले समुन्नत पार्ने काम धितोपत्र बोर्डको हो कि लगानीकर्ता संघ संस्थाको ?

विगतमा धितोपत्र बोर्डमा भएको आन्दोलनको दृश्य

लगानीकर्ताले सधै आन्दोलन मात्रै गरिरहनुपर्छ भन्ने पनि हैन, विश्वका अरु शेयर बजारमा लगानीकर्ताले आन्दोलन गर्नुपरिरहेको छैन भने हामी पनि त्यही चाहन्छौ कि बजार बिकास र सुधारका एजेण्डा लिएर हामीले पनि फेरि आन्दोलन गर्न नपरोस तर ग्त्यसको ग्यारेन्टी अहिलेसम्म कसैले गरेको छैन । फरक यति हो धितोपत्र बोर्डको अहिलेको नेतृत्व पूँजी बजार बिकास, विस्तार र सुधारका साथै लगानीकर्तालाई राहत प्रदान गर्न गंभीर रुपमा सक्रिय छ भन्ने हामीलाई लागेको छ ।

जब धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नै लगानीकर्तासँगको छलफलमा सहभागी भएर अर्थ मन्त्रालयले पूँजी बजारसम्बन्धी काम गर्ने सम्पूर्ण अधिकार बोर्डलाई दियो, अब सबै कुराको जिम्मा लिएर काम गर्छौ भन्ने प्रतिबद्धता जनाउनु भयो भने हामी लगानीकर्ताले उहाँलाई अविस्वास गर्ने, आलोचना गर्ने कि पूर्ण समर्थन गरेर विस्वास गर्ने ? के हामीले उहाँ सहभागी बैठकमा नाराबाजी गरेर धितोपत्र बोर्ड मुर्दाबाद भन्नुपर्दथ्यो ? धितोपत्र बोर्ड र लगानीकर्ताबीच हार्दिकतापुर्वक र खुलस्त छलफल भएर विस्वासको वातावरण बनेको अबस्थामा हामीले बोर्डलाई पूर्ण समर्थन गरेका हौं । उसले गरेको पहललाई होस्टेमा हैंसे गरेका हौ र धितोपत्र बोर्ड हाम्रो अभिभावक भएकाले हाम्रो हक अधिकारको सुरक्षा र पूँजी बजार विकास, विस्तार र सुधारको पहलप्रति आस्वत भएका हौं । के यो हाम्रो अपराध हो ?

चारतिर फर्किएका लगानीकर्ताका संघहरुलाई एक ठाउँमा ल्याएर बजार बिकास र सुधारको एउटा सहमतिमा पुर्याउँनुलाई त ठूलो उपलब्धि मान्नुपर्नेमा उल्टै कुप्रचार गर्नुको रहस्य के हो ?

कसैले पनि शंका गर्नु आबश्यक छैन । गलत काम भयो भने विरोध हुन्छ, आन्दोलन हुन्छ र सुधारका लागि बाध्य पारिन्छ ।

अनि फेरि लगानीकर्ता संघका नेताहरुका लागि कसैले लगानीकर्ताको आवाज उठाईदिन तलब भत्ता दिएर परिचालन गरेका पनि हैनन् र कसैैले तलब भत्ता सुविधा दिएर रोक्न पनि सक्दैन । हामीले आफ्नै कमाईबाट खाना खाजा, खाएर, आफैले कमाएको पैसाले किनेको मोटरसाईकल वा गाडी चढेर वा पैदल हिडेर गन्तब्यसम्म पुगी काम गर्दै आएका छौ । भोकै बसेर टुकुचाको नालीको गन्ध सुँघेर पनि संघर्ष गरेका छौ । हामीले विशुद्ध स्वयं सेवा गरेका हौं, पूँजी बजारको बिकास, विस्तार, सुधारका काम भए त्यसको लाभ आफुलगायत सारा लगानीकर्तालाई हुन्छ भन्ने स्वार्थले हामी परिचालित भएका हौं । हामीलाई नेता बन्ने र फोटोे खिचाउने रहर भएकाले हैन ।

हामीले जस्तै स्वयं सेवा गर्ने ईच्छा भए जो आए पनि हुन्छ । हामीले गरेको काम गलत भए सही काम गरेर देखाए हुन्छ तर गाली मात्रै गरेर बस्ने छुट कसैलाई पनि छैन । अरुको आलोचना गर्नेले के गर्दा राम्रो हुन्छ भन्ने कुरा ल्याएर आफैले पहल गरेर काम गरी देखाउँन सक्नुपर्छ ।

लकडाउनको तीन महिनामा पूँजी बजार बिकास, विस्तार र सुधारका कामहरु नभएको साँचो हो तर अब तीब्र ढंगले ती कामहरु हुँदैछन् र त्यसको एकपछि अर्को परिणाम देखिने कुरामा हामी सम्पूर्ण लगानीकर्ताहरु साथीहरुलाई आश्वस्त गराउँन चाहन्छौ । हाम्रो पूँजी बजार राम्रो राम्रो हुँदैछ । आशावादी हुने धेरै ठाउँ छन् ।

राम्रो पहल गर्नेलाई साथ सहयोग दिनुको सट्टा उल्टै आरोप लगाउने र निराश पार्ने कामहरु बन्द हुनैपर्छ । यदि हामीले गरेको पहल ठीक छैन, पूँजी बजारका समस्याहरु समाधानको काम गर्नुहुन्न भन्ने कोही हुुनुहुन्छ भने अगाडि आउनुहोस र नेतृत्व लिनुहोस्, के भिजन छ भन्नुहोस् र हामलिाई पनि तपाइँहरुको कुरा सुनेर मनन् गर्ने अवसर दिनुहोस् । कोही त नेता निस्किनुस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here