हिमालयन डिष्टीलरी (HDL)ले गत शुक्रबार अर्थात र्मसिर ९ गते ६० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेकोमा आईतबारको कारोबारमा एकैदिन सो कम्पनीको ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आकर्षक लाभांश घोषणा गरेको भन्दै सर्बसाधारण सो कम्पनीको सेयर किन्न ओईरिदा पहिले सस्तो मूल्यमा सेयर किनेर नाफा गरेकाहरुले ठूलो कित्ता बिक्री गर्ने मौका छोप्दा कारोबार रकम सर्वाधिक भएको हो । अन्य दिन बढीमा १० हजार कित्तासम्म किनबेच हुने यो कम्पनीको सेयर यस दिन एक लाख ८ हजार कित्ता किनबेच भएको छ । गत बिहीबार प्रतिकित्ता ३९३० रुपैयाँमा अन्तिम कारोबार भएको एचडीएलको सेयरलाई आईतबार लगानीकर्ताहरुले ४३२३ रुपैयाँसम्म हालेर किनेका थिए ।

भाउ बढेको मौकामा सेयर बिक्री गर्नेहरुको चाप बढ्दै गएर अन्तिममा खरिदकर्ताहरुको कमी भई प्रति कित्ता मूल्य ४०६६ सम्म झरेको छ । ३.४६ प्रतिशत अर्थात रु. १३६ बढेर अन्तिम मूल्य ४०६६ कायम रहे पनि यही दिन उच्च मूल्य अर्थात ४३२३ मा किन्नेले प्रतिकित्ता रु. २५७ रुपैयाँसम्म बढी तिरेका छन् ।

एक अर्ब ५१ करोड चुक्ता पूँजी रहेको यस कम्पनीले ६० प्रतिशत बोनस जारी गरेपछि दुई अर्ब ४१ करोड नाघ्ने छ । एक अर्ब ५४ करोड जगेडा कोष रहेको कम्पनीले यस बर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ५६ रुपैयाँ कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ । कम्पनीले गोल्डेन वेयक जस्ता रक्सी उत्पादन गर्दै आएको छ ।

पुस २० गते सेयरधनी किताब बन्द गरी पुस २७ गते बार्षिक साधारणसभा गरेर लाभांश बाँड्ने सूचना कम्पनीले जारी गरेको छ ।

कारोबार समयको शुरुमा एचडीएलको सेयरको मूल्य ह्वार्ह्वारती बढ्न थालेपछि अरु कम्पनीमा पनि खरिदकर्ताहरु हावी हुँदै गएका थिए । यही कारणले आईतबारको कारोबार रकम समेत बढेर दुई अर्ब दूई करोड नाघेको छ भने नेप्से सूचकमा समेत ३२.४३ अंकले बढोत्तरी भएर १९६५ विन्दुमा उक्लेको छ ।

लामो समयपछि सेयर बजारमा खरिद चाप देखिएकाले लगानीकर्ताहरु उत्साहित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here