तिलक कोइराला ।

शेयर बजार धेरै घट्यो भन्दै अरु लगानीकर्ता भागाभाग गरिरहेको बेला हिम्मतका साथ बजार छिरेर राम्रा तर सस्ता कम्पनीको शेयर उठाउनेले नै जित्छ । बजार घटाईले पहिले शेयर किनेकाहरु आँतिन्छन तर हातमा पैसा भएकाहरुलाई राम्रा तर सस्ता कम्पनीका शेयरहरु छानी – छानी किन्ने अवसर जुरेको मान्नुपर्छ । भोलि बजार बढ्न थाल्दा बेलैमा किनिएन भनी पछुताउने काम गर्नु बेकार छ ।

आफुसँग भएको सबै पैसाले एकैपल्ट शेयर किन्नुहुन्न किनभने बजार अरु घट्ने संभावना रहन्छ र त्यस्तो बेलामा फेरि मौका छोप्न पनि सकिन्छ । पैसा भए शेयर बजारमा मौका जतिखेर पनि आउँछ ।

शेयरको मूल्य ह्वारह्वारर्ती बढ्न थाल्दा उचालिएर किन्न आउने, बढेर यहाँ पुग्छ र त्यहाँ पुग्छ भन्दै थरी थरीका विश्लेषण पस्कनेहरु त आउँछन तर बुद्धिमान त त्यो हुन्छ जसले शेयरको मूल्य घटेको बेला किनेर सस्तोमा राम्रो कम्पनीको शेयर हात पार्छ । मूल्य बढ्न थालेपछि त किन्ने हैन, बेच्ने हो ।

काम नलाग्ने कम्पनीका शेयर जति सस्तो भए पनि किन्न हुँदै हुन्न, तर राम्रा कम्पनीका शेयर पाएसम्म नछाड्ने नै हो । हिम्मत गरेर आजै बजार छिरेर र भटाभटी शेयर किन्दा भबिष्यमा पछुताउनु पर्दैन तर आजको भोलि नै फाईदा होस् भन्ने धारणा एकदम गलत छ ।  यसो भन्दा यस्तो घटिरहेको बेला शेयर किन्ने मुर्ख भन्लान् तर उनीहरुको कुराको परबाहै नगरी अगाडि बढ्नुपर्छ । आज शेयर नकिन भन्नेहरु भोलि उनीहरु आफै मुर्ख सावित हुने पक्का छ ।

शेयर किन्दा ध्यान दिनुपर्छ कि जुन कम्पनीको शेयर मूल्य ३०० रुपैयाँ भन्दा तल छ, प्रति शेयर आम्दानी १५ रुपैयाँ माथि र मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल, प्रतिशेयर नेटवर्थकै हाराहारी मुल्य रहेको, औसत मूल्य भन्दा अन्तिम शेयर मूल्य तल रहेको, गत बर्षको नाफाबाट लाभांश बाँडेको वा यस बर्षकोबाट बाँड्नसक्ने, संस्थागत सुशासन राम्रो रहेको, शेयरको मूल्य कम्तिमा ८० रुपैयाँ घटेको जुनसुकै कम्पनीको शेयर किन्नुपर्छ। यसो गर्दा आगामी दिनमा पछुताउनुपर्ने छैन तर एउटै कम्पनीको हैन, कम्तिमा पाँच वटा कम्पनीको शेयर किन्नुपर्छ ।

शेयरको मूल्य घट्न थाल्दा भागदौड गरेर घाटा खाई शेयर बेच्ने लगानीकर्ताहरु विश्वका जुनसुकै शेयर बजारमा पनि हुने गर्छन । कोरोना भाईरसको आतंकले विश्वका नाम चलेका शेयर बजारमा समेत यस्तो भागदौड देखियो भने नेपालको जस्तो पछौटे शेयर बजारमा भेडा जस्ता लगानीकर्ताहरु भाग्नु अनौठो हैन । उनीहरु जसरी भागे फेरि त्यसै गरी लर्को लागेर बजारमा आउँने छन् र शेयर किन्न ठेलमठेल गर्ने नै छन् । अर्थमन्त्री खतिवडाको आतंक होस् वा हल्ला फैलाउनेहरुले चलाएका अनेक प्रोपोगाण्डा नै किन नहोस्, कुनै परबाह गर्नुहुन्न किनभने यस्ता हल्ला फैलाउनेहरु यो घटाईको मौकामा आफै शेयर किन्दैछन् ।

शेयरको मूल्य धेरै घटेर नेप्सेको भित्ता पुरा रातो हुँदा मौका आएको छ भनी ठानेर हिम्मत देखाउँनुपर्छ । शेयर बजारमा जसले यस्तो हिम्मत गर्छ र जोखिम ब्यवस्थापन गरेर लगानी विविधिकरण गर्छ, उसले अबश्य कमाउँछ ।

नेप्से सूचक यति पुग्छ र उतिपुग्छ भन्ने तर आफ्नो भूत र भविष्य नजान्ने कथित प्राविधिक विश्लेषक वा शेयर बजारका नामधारी विश्लेषकहरुको कुरा सुन्दै नसुन्नु राम्रो । उनीहरुको कुरा सुनेर किन्नुपर्ने बेलामा बेचेर “स्टप लस” गर्ने मुर्खता गर्नुहुन्न ।

शेयर बजार जोखिमको क्षेत्र हो । आफैले कम्पनीबारे पर्याप्त अध्ययन, विश्लेषण र स्वतन्त्र निर्णयद्धारा लगानी गर्नुपर्छ। शेयरमा छोटो समयमा ३०-४० प्रतिशत नाफा भयो भने नाफा सुरक्षित गर्न पनि चुक्नुहुन्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here