तिलक कोइराला ।
सेयर बजारका प्राविधिक बिश्लेषक अर्थात टेक्निकल एनलिष्ट (टीए)हरुको राय सल्लाहमा सेयर किनबेच गर्नेहरु अहिले कयौं छन् । सर्बसाधारण लगानीकर्ता मात्रै हैन, एक से एक गनिएका संस्थागत लगानीकर्ताहरु पनि उनीहरुकै सल्लाह र मार्ग निर्देशनलाई अनुशरण गर्छन् । टीएहरुको सल्लाहमा लागेर फस्नेमा पनि सर्बसाधारण मात्रै छैनन्, संस्थागत लगानीकर्ता पनि उत्तिकै छन् ।
अघिल्लो साता एक नाम चलाईएका टीएले आफु सम्बद्ध सामाजिक संजालको समूहमा नेप्सेको १४१० देखि १४८० सम्मको लक्ष्य किटानी अर्थात टार्गेट दिए । उनले १४१० को बिन्दुबाट नेप्से तल आएमा धेरै गिरावट आउने बताएका थिए भने १४३० भन्दा माथि गएमा बजार बढेर १४८० सम्म पुग्ने भबिष्यवाणी गरेका थिए । उनले भनेको कुरालाई आधार मानेर नेप्से १४३० भन्दा माथि जाँदा कयौं लगानीकर्ताले बजारबाट सेयरको भाऊ उचालेर किने तर नेप्से १४८० नपुग्दै बजारमा गिरावट आयो र महंगोमा सेयर किनेकाहरुले संभवतः फसेको अनुभुति गरे होलान् । तर उनले फेरि अर्को रेखात्मक संदेश फैलाएर नेप्से १२५० सम्म झर्ने भबिष्यबाणी गरे ।
अर्का टीए छन् जसले नेप्से तीन अंकमा आउँछ आउँछ भन्दै केही समय अघि अड्डी कसेका थिए । उनको अड्डीमा केही नाम चलेका लगानीकर्ता मात्रै हैन, संस्थागत लगानीकर्ताले पनि लहैमा लहै मिलाए । उनीहरु ती टीएले भने अनुसार सेयर बजार सूचक तीन अंकमा झर्ला र सेयर किनौला भन्दै प्रतीक्षा गरेर बसे । बजारमा लगातारको गिरावट पनि आयो तर ती टीएले भनेको बिन्दु नआई पुग्दै बजार बढ्न थाल्यो र ती संस्थागत लगानीकर्तासँगै केही ठूला सेयर ब्यापारीहरु जिल्लाराम परे ।
कम्पनीहरुले अहिले धमाधम तेस्रो त्रैमासको बित्तीय विवरणहरु प्रकाशित गरिरहेका छन् । सर्बसाधारण लगानीकर्तामा कुन कम्पनीको प्रगति कस्तो भन्ने बारेमा चर्चा परिचर्चाहरु बाक्लै हुन थालेका छन् तर ती टीएहरुको तर्फबाट कम्पनीहरुको राम्रा, नराम्रा बित्तीय विवरणबारे कुनै बिश्लेषण प्रस्तुत गरिएको पाईदैन । संभवतः यो उनीहरुको चासोको बिषय पनि हैन । उनीहरुको टेक्निकल एनलाईसिसलाई कम्पनीहरुको आधारभुत अबस्थाले आधार नदिने भएकाले पनि हुनसक्छ, उनीहरुको चासो नदेखिएको हो ।
नेपालका टीएहरुको काम धर्का तानेर नेप्से यहाँसम्म पुग्छ र यहाँसम्म झर्छ भन्नु मात्रै हो जस्तो देखिएको छ । उनीहरुले धर्का तानेर देखाउने सपोर्टलाई बजारको मनोबिज्ञानले कतिखेर भत्काईदिन्छ के थाहा ? फलानो कम्पनीको सेयरको मूल्य यहाँसम्म चढ्छ र यहाँसम्म झर्छ भन्नेमा उनीहरु पारंगत छन् जस्तो भान पार्न खोज्छन् । उनीहरुले यस्ता कम्पनीको प्राविधिक बिश्लेषण गर्छन, जुन कम्पनीको बित्तीय अबस्था अत्यन्त खराब छ, बजारमा सेयरको संख्या अत्यन्त कम छ वा कुनै एउटा समूह वा ब्यक्तिको हातमा धेरै सेयर छ । त्यस्ता कम्पनीहरु जसको सेयर मूल्य अघिल्लो दिनसम्म १० प्रतिशतले बढेको हुन्छ, भोलिपल्ट १० प्रतिशतले घट्छ, त्यस्ता कम्पनीहरु उनीहरुको छनौटमा पर्नु अचम्म छ ।
कतिपय टीएहरु सेयरको मूल्य बढ्न थालेपछि सेयर किन्न लगानीकर्ताहरुलाई सुझाउँछन् भने घट्न थालेपछि घाटा कम गर्ने (स्टप लस) को सुत्र भन्दै सेयर बेच्न उक्साउँछन् । एकैछिन अघिसम्म सेयर बजार घट्यो भनेर स्टप लसको सुत्र अनुसार भटाभट सेयर बेच्नेहरु एकैछिनमा बजार बढ्न थालेपछि आफुले बेचेको सेयर फेरि अर्कोको नाममा किन्छन् र बडो अचम्मको बिद्याको सही सदुपयोग गरिरहेका हुन्छन् ।
उनीहरुले फेसबुक, भाईवर लगायतका सामाजिक संजालमा सदस्य बनाएका धेरै ब्यक्तिहरु बीचमा यस्ता कुराहरु प्रबाह हुँदा सेयर बजार प्रभावित हुने गरेको छ । फलानो टीएले यसो भन्यो रे, उसो भन्यो रे भन्दै सेयर किनबेच गर्नेहरुका कारणले बजारमा यत्तिकै गिरावट आउने र बढ्ने हुँदै आएको छ ।
सेयर बजार बढेर नाफा हुँदा सेयर बेच्ने र घटेर सेयर सस्तिदा किन्नुपर्ने हो तर यहाँका टीएहरुले उल्टो बिद्या कहाँबाट सिकेको हुन् भन्ने कुरा पत्ता लगाउँन पनि निकै गाह्रो छ ।
नेपालका टीएहरुले लगानीकर्ताको मनोबिज्ञानमा नराम्ररी खेल्न भने सफल हुँदै आएका छन् । बजार ओरालो लागेर लगानीकर्ताको मनोबल कमजोर भएको बेलामा अरु कमजोर बनाउँन र बजार बलियो बनेर उकालो लागेको बेला लगानीकर्तालाई उक्साएर नेप्से धेरै माथि वा कुनै बिन्दुमा पुग्छ भन्दै उत्तेजित पार्न यिनीहरु सफल छन् ।
यी टीएहरुलेको अर्को अचम्म लाग्दो बिद्या पनि रहेछ । उनीहरु राम्रा र सस्ता सेयर मूल्य भएका कम्पनीहरुको सेयरहरुमा लगानी विविधिकरण (डाईभर्सिफाई) गरी दीर्घकालीन लगानी गर्ने सल्लाह कहिल्यै दिदैनन् । सकेसम्म एउटै कम्पनीको सेयर उठाउने र एउटा बिन्दुमा पुर्याएर सेयर बेच्ने रणनीति बनाईन्छ । सेयर बजारमा सेयर किन्नु र नाफा गरेर बेच्नु मात्र नेपालका टीएहरुको शब्दकोषमा छ जस्तो देखिन्छ, कम्पनीले दिने लाभांशमा उनीहरुको बिद्याले हेर्दैन जस्तो देखिन्छ । उनीहरु आफ्ना सदस्यहरुलाई न्युज लेटर अर्थात सल्लाह पत्र पठाएर रणनीति कार्यान्वयन गराउँछन् । बजारमा थोरै सेयर भएको र सकेसम्म एउटै ब्यक्ति वा समूहको हातमा सेयर रहेको कम्पनीमा एक, दुई करोड परिचालन गर्दा अहिलेको सेयर बजारमा पनि सजिलै मूल्य तलमाथि गर्न सकिने अबस्था बिद्यमान छ र टीएहरुले आफ्नो प्रभावकारिता देखाउँन यस्तैमा खेल्ने गरेका छन् ।
लगानीकर्ताको लगानीबारे यिनीहरुको कुनै जिम्मेवारीबोध हुने गर्दैन, खराब कम्पनीमा लगानी गर्न उक्साएर उनीहरु कुलेलम ठोक्छन्, फसे सर्बसाधारणकै पैसा फस्छ भन्ने जस्तो ब्यवहार गरिन्छ ।
अहिले च्याउ जसरी खुलेका सेयर तालिम केन्द्रहरुले सेयर बजारबारे केही जान्दै नजानेकाहरुलाई यस्तै प्राविधिक बिश्लेषण तालिमको ब्यापार गरेका छन् । सेयर बजारमा लगानी गर्दा घटबढ्को जोखिम हुन्छ, लगानीकर्ताले घाटा खान्छन् तर यस्ता तालिम केन्द्रहरुले कुनै जोखिम विना नै मासिक लाखौं रुपैयाँ कमाईरहेका छन् । धेरै लगानीकर्ताले घाटा खाँदा वा नराम्रो कम्पनीको महंगो सेयरमा फस्दा यिनीहरुको शुद्ध नाफाको ब्यापार अझ राम्रोसँग फस्टाएकै छ ।
रत्नपार्कमा जोखाना हेर्ने भन्दा यिनीहरु केही कुरामा फरक छैनन् जसलाई आफ्नै भबिष्य थाहा छैन । यदि सेयर बजार फलानो बिन्दुबाट फलानो बिन्दुमा पुग्छ र फलानो कम्पनीको सेयर किन्दा यत्ति नै कमाउँन सकिन्छ भन्ने यिनीहरु जान्दथे भने किन यिनीहरु आकर्षक बिज्ञापन गरेर तालिमको ब्यापार गर्थे होलान् र ? बकाईदाले धर्का तानेर सेयर किनी मालामाल भईसक्थे होला्न -भन्ने कुरा आलोचकहरुले उठाउने गरेका छन् ।
आधारभुत सूचकहरुको आधारमा चलेको सेयर बजारमा बजारको चाल बुझ्न प्राविधिक बिश्लेषण महत्वपूर्ण औजार हुने गर्छ तर नेपालको बजारमा पूर्ण अनलाईन कारोबार समेत नभएको अबस्थामा यो अर्थहिन मात्रै छैन, लगानीकर्तालाई भ्रम पार्ने खालको पनि छ । आधारभुत कुराहरुमा टिकेको र दह्रो नियमनको ब्यवस्था भएको सेयर बजारमा प्राविधिक बिश्लेषणले पनि लगानी गर्न र झिक्न ठूलो मद्धत गर्ने कुरामा विवाद हुनसक्दैन तर नेपालको जस्तो “सतही” बजारमा धर्का मात्रै तानेर गरिने प्राविधिक बिश्लेषण असफलसिद्ध छ । कुनै कम्पनीको सेयर मूल्य के कारणले घट्छ र के कारणले बढ्छ भन्ने कुरा एउटा सामान्य हल्लाले फरक पार्दै आएकोमा प्राविधिक विश्लेषण सेयर बजारमा लगानीको मुख्य सहारा बन्न सक्दैन ।
कहिले सेयर लगानीकर्तालाई उक्साउने त कहिले हदैसम्म निराश बनाउने खेलमा लागेका टीएहरुको कारणले नेपालको सेयर बजारमा ठूलो खतरा छ । धेरै सर्बसाधारण लगानीकर्ता उनीहरुको कमाउँ जालमा फसे भने बजारमै ठूलो संकट आउँछ, त्यसैले हे भगवान यी टीएहरुबाट सर्बसाधारण लगानीकर्तालाई बचाऊ ।
स्पष्टिकरणः यहाँ सबै टीएहरु एउटै हुन् र सबैले लगानीकर्तालाई फसाएका छन् भन्न खोजिएको अबश्य हैन, जसले कम्पनीको आधारभुत कुराको जगमा प्राविधिक बिश्लेषण गर्ने गर्छन, उनीहरुले लगानीकर्तालाई सही ज्ञान दिईरह्ेका पनि हुनसक्छन् ।