काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहले सडकमा ब्यवसाय गर्ने गरीवहरुलाई लखेट्ने क्रममा एक युवती आफ्नो ठेला समाएर धरधरी रोएको र त्यही समय आसपास मेयर साह आफ्नी श्रीमतिसहित दरबारमार्गको डिस्कोमा मस्ति गरेका भिडियोहरु यस साता सामाजिक संजालमा भाईरल भए ।
त्यही प्रसंगमा मैले फेसबुकमा पोष्ट गरेको स्टाटसमाथि कतिपयको तीखो आलोचना र प्रतिक्रियाहरु प्राप्त हुँदा सबैलाई एकमुष्ठ जवाफ दिनैपर्ने अबस्था आयो ।
मेयरले कुनै डिस्को जानै नहुने, आफ्नै पैसा खर्च गरेर श्रीमतिसँग नाचगान र मस्ति गर्न नहुने भन्ने कदापी हैन, मज्जाले हुन्छ । त्यसमाथि मेयर साह आफै हिपहप संस्कृतिका बाहक भएकाले उनलाई आफ्नो ईच्छा अनुसार पारिवारिक मनोरन्जन गर्न कसैले रोक लगाउँन सक्दैन । उनको पनि निजी जीवन हुन्छ र उनले आफ्नो निजी जीवन ब्यतित गर्न मज्जाले पाउँछन् । तर मेयर अर्थात नगरपिताको अर्थ के हुन्छ ? यसको अर्थ त्यो नगरभित्र बस्ने सबैको पिता हो भने कोही नगरप्रहरीको प्रताडना सहेर रुनु पर्ने तर मेयर भने डिस्कोमा मस्ति गर्दै हिड्ने अवस्थाको परिकल्पना गरिएको अबश्य हैन । म आफै बालेन साहलाई मेयरमा जिताउनुपर्छ भनेर राति १२ बजे फेसबुकमा पहिलो स्टाटस हाल्ने मान्छे हुँ र त्यतिखेर कतिपयले राति नै तिलक बौलाएछ कि क्या हो भनेर समेत भनेका थिए । हाम्रो परिकल्पना यस्तो मेयरको हुँदै हैन जो गरीव र श्रमिकहरुको रोदन र क्रन्दनलााई पूर्णत: वेवास्ता गर्दै हिडोस ।
म स्पष्ट छु कि सडक सवारी साधनहरुको हो र पेटी विशुद्ध रुपमा बटुवाहरुको हो । यी दुई ठाउँमा अतिक्रमण वा अन्य कार्यमा उपयोग सख्त कारबाहीको बिषय बन्नैपर्छ । सडक र पेटीमा पसल ब्यवसाय गर्न, माल सामान थुपार्न, अवरोध गर्न कसैलाई पनि दिईनुहुन्न । सडकमा हुने दुर्घटनाको जोखिम कम गर्न र बटुवाहरुलाई सजिलो पार्न अनधिकृत कृयाकलाप नियन्त्रण गरिनु नै पर्छ । अझ काठमाडौको सडक र पेटी त रैथानेहरुको घर भत्काएर फराकिलो पारिएको हो । घर भत्काएर सडक र पेटी चौडा पार्ने, रैथानेहरु विस्थापित हुने तर त्यही सडक पेटीमा बाहिरका मानिसहरु आएर पसल ब्यवसाय गर्न मिल्दै मिल्दैन । अर्कोतर्फ चर्को घर बहाल र महानगरपालिकालाई कर तिरेर संचालन गरिएका पसल ब्यवसायलाई नराम्रो असर पर्ने गरी सडक र पेटी ओगटेर, अरुको पसल छेकेर कुनै पसल संचालन गरिन्छ भने त्यसलाई नियन्त्रण गर्नु महानगरपालिकाको कर्तब्य नै हुुन्छ । सडकमा पसल थाप्नेहरु गरीवहरु मात्रै छैनन्, काठमाडौमा घर भएका र हुने खानेहरु पनि भेटिन्छन् ।
काठमाडौमा अहिले सडक तथा फुटपाथमा पसल ब्यवसाय गरिरहेकाहरुलाई अर्को खुला ठाउँमा स्थानान्तरण गरेर त्यस्तो ब्यवसाय गर्न दिने अबस्था छदैछैन । केही बर्ष अघि फुटपाथ र खुलामन्चमा यस्तै ब्यवसाय गर्नेहरुलाई भृकुटीमण्डपमा सारियो तर फेरि सडक र फुटपाथमा ब्यवसाय गर्न आउनेहरुले त्यो ठाउँ भरियो । भृकुटीमण्डपमा पसलका लागि ठाँउ कब्जा गरेकाहरुले लाखौं रुपैयाँमा त्यो ठाउँ बेचे र अहिले पनि काठमाडौमा आलिशान महल भएका र पहुँचवालाहरुले भुकृटीमण्डपको ठाउँ ओगटेर बसेका छन् । दिनदिनै ठाँउ किनबेच भईरहेको छ । त्यसैले देशभरबाट ओईरिएका गरीव र श्रमिकहरुलाई राजधानीमा अर्को ठाँउमा स्थानान्तरण गर्छु भन्ने कुरा संभव नै छैन र काठमाडौ महानगरले मात्रै चाहेर पनि सक्दैन ।
यसो भन्दाभन्दै पनि काठमाडौ महानगरपालिकाले केही पनि गर्न सक्दैन भन्ने हैन । केबल १० करोड रुपैयाँको बजेट ब्यवस्था गरेर योजनाबद्ध काम गरे काठमाडौका सडकमा नगरप्रहरी र फुटपाथे पसलेवीचको तानातान, हानाहान, लुकामारी र खेदाखेद अन्त्य गर्न सकिन्छ । सडक ब्यापारीहरुलाई खेद्दा खेद्दा नगरप्रहरी हैरान भईसकेका छन् र उनीहरुको पनि आफ्नै खाले बाध्यता र पीडा छ । सडक र फुटपाथमा पसल ब्यवसाय गर्न पूर्ण बन्देज लगाउने तर त्यसो गरिरहेकाहरुले कुनै सटर वा कोठा लिएर पसल दर्ता गरेर संचालन गर्न चाहे महानगररपालिकाले एक लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म बिऊ पूँजी कर्जा उपलब्ध गराउने ब्यवस्था गरेर महानगरपालिकाले दीर्घकालीन समाधान दिनसक्छ । महानगरभित्र ब्यवसाय प्रबद्र्धन गर्नसक्छ । अहिलेका सडक र फुटपाथे ब्यवसायीहरुको तीन पुस्तेसहितको विवरण संकलन गर्ने, उनीहरुले ब्यवसाय दर्ता गरी कुनै सटर, कवल वा कोठा भाडामा लिई ब्यवसाय संचालन गर्न चाहेमा एकाघरका परिवार र ब्यवसाय धितोमा दुई लाखसम्मको कर्जा दिने संचरना तयार गर्नुपर्छ । बार्षिक ब्याज दर १० प्रतिशत हुने, पहिलो तीन महिनापछि कर्जाको ब्याज असुली शुरु हुने र दोस्रो तीन महिनापछि सावाँ असुलीको किस्ता शुरु गर्ने गरी तीन बर्ष अवधिका लागि कर्जा प्रबाह गर्नुपर्छ । यस्तो कर्जा नेपाली फलफूल र तरकारी तथा खाद्यान्न बिक्री बितरणसँग सम्बन्धित ब्यवसायका लागि मात्र हुनुपर्छ र यस प्रयोजनका लागि दुई लाख रुपैयाँसम्मको कर्जा पर्याप्त पनि हुन्छ । एक हजार जनासम्म सडक ब्यापारीहरु यसबाट लाभान्वित हुनसक्छन् । यसले आन्तरिक उत्पादन प्रबद्र्धन र शहरी उपभोक्तालाई सस्तो मूल्यमा स्वदेशी ताजा तरकारी, फलफूल र खाद्यान्न उपलब्ध गराउन महत्वपूर्ण भुमिका खेल्नसक्छ । अरु कामका लागि यस्तो कर्जा उपभोगमा प्रतिबन्ध र कडा नियमन हुनैपर्छ ।
गरीवहरुमा यस्ता साना रकमको ठूलो महत्व हुन्छ । महानगरले ठेला कब्जा गेपछि त्यही ठेला समातेर रोईरहेकी युवतीका लागि बेलायतमा बस्ने ईशामायाँ गुरुड. देखि धराने मेयरसम्मले आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुको अर्थ यही रहन्छ । सानो रकमबाट उनले अर्को ब्यवसाय शुरु गर्न सकुन भन्ने हो । १० करोड रुपैयाँ महानगरका लागि केही हैन तर त्यसले कम्तिमा एक हजार जना शहरी गरीवलाई प्रत्यक्ष राहत मिल्नसक्छ । गरीवको उद्धार गर्दा १० करोड नै डुब्यो भने पनि महानगर डुब्दैन ।
यसरी विकल्प दिए पछि अहिले फुटपाथमा ब्यवसाय गरिरहेकाहरुले गर्ने रुवाबासीको अर्थ हुन्न र उनीहरु धरधरी रोए पनि कसैले सहानुभुति राख्दैन किनभने महानगरपालिकाले आफ्नो कर्तब्य पुरा गरिसकेको हुन्छ । यस्तो ब्यवस्था गरेपछि महानगरपालिकाले जति बल प्रयोग गरे पनि हुन्छ किनभने विकल्पै पाईन भन्ने कसैको गुनासो हुन्न । जो ब्यवसाय दर्ता गरेर संचालन गर्न चाहदैनन् उनीहरु गाउँ फर्किन्छन् वा अरु नै विकल्प खोज्छन् ।
राजधानी काठमाडौमा देशभरिबाट आएका गरीवहरु आफ्नो नागरिक नै हैनन् भनेर महानगरपालिका पन्छिन मिल्दैन किनभने जहाँका भए पनि उनीहरु नेपाली नागरिक हुन् । महानगर भनेको सरकारकै अंग हो, कतिपय मामिलामा त केन्द्रीय सरकारको भन्दा बढी दायित्व र जिम्मेवारी राजधानी रहेको महानगरको हुन्छ । त्यसैले सडकका गरीवहरुको ब्यवस्थापनमा महानगर नचुकोस भन्ने हो ।
शहरी गरीवहरु दिउँसो अरुको घर कार्यालयमा काम गरेर विहान बेलुका आफ्नो सानो ब्यवसाय गर्छन । सडक बढार्ने, फोहर ब्यवस्थापन गर्ने, पसलमा काम गर्ने, घर बनाउने, रंग लगाउने, विजुलीको काम गर्ने, घरमा कुचो लगाउने, भाडा माझ्ने, भुई पुछ्ने, कपाल काट्ने, पुरानो कागज र खाली सिसी संकलन गर्ने, साना ब्यवसाय संचालन गर्ने, नाली र सेफ्टी ट्यांक सफा गर्ने, जुत्ता पालिस गर्ने, गाडी चलाउने, होटल र रेष्टुरेन्टमा काम गर्ने जस्ता काम गर्ने मानिसहरु भएनन् भने शहरमा मुर्दा शान्ति छाउँछ । जसरी दशैंको बेलामा मानिसहरु गाउँ फर्किदा काठमाडौ सुन्य हुन्छ । शहरी अर्थतन्त्र चलायमान बनाउन गरीवहरुको पनि ठूलो भुमिका छ । त्यसैले राजधानीलाई गरीवहरु चाहिदैन भन्ने कुरा कसैले नगरौं । बरु यस्ता जनशक्तिमा विदेशीलाई निरुत्साहित गरेर स्वदेशीलाई संरक्षण गरौं ।
(नोट: महिलाको फोटो सामाजिक संजाल फेसबुकबाट लिईएको हो)