नेपाल राष्ट्र बैंकले बित्तीय प्रणालीमा ४३ अर्ब अधिक तरलता रहेको जनाएको छ । राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले बैकिङ क्षेत्रमा समस्या नरहेको दावी गरे ।

राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरुको अन्तर बैंक ब्याज दर अहिले १.४१ प्रतिशत छ भने बिकास बैंकहरुको ३.४५ प्रतिशत छ । यो भनेको औसत रुपमा सामान्य अबस्था हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार तरलता संकट भएको बेला १२ अर्ब हाराहारी मात्र अधिक तरलता बित्तीय प्रणालीमा थियो । तर अहिलेको अबस्था हेर्दा बित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको मान्नुपर्छ यद्यपी डेढ महिना अघि बित्तीय प्रणालीमा ७५ अर्ब अधिक तरलता रहेको थियो, जुन अहिले क्रमशः घटेको छ ।

बैंकहरुले तरलता संकटको आँकलन गर्दै भटाभटी निक्षेपको ब्याज बढाएर पैसा तानातान गर्ने प्रतिस्पर्धा गर्न लाग्दा दशैपछि के होला भन्ने प्रश्न खडा भएको छ । परिस्थितिलाई गंभीर बन्न नदिन सजगता भने अपनाउनु जरुरी भईसकेको छ ।

केही दिन अघि गाडी ब्यवसायीहले नाडा अटो शो आयोजना गरेर गाडी ब्यापारको हल्ला गरेपछि पाँच अर्ब रुपैयाँ गाडी कर्जामा परिचालन भएको बताईन्छ । कतिपय बैंकहरुले ९, १० प्रतिशतको बार्षिक ब्याज दरको बिज्ञापन गर्दै गाडी कर्जामा रकम बढाईरहेका छन् भने अन्य प्रकारका उपभोग्य कर्जाको माग पनि दशैका कारण बढेको बताईन्छ । यही बेलामा ठूलो रकमको आयात हुनु र डलरको मूल्य बृद्धिका कारणले धेरै रकम बाहिरिनु पनि तरलता घट्नुका सहायक कारणहरु हुनसक्छन् । तर अपेक्षा अनुसार सरकारको पूँजीगत खर्च भएर पैसा सरकारी ढुकुटीबाट बाहिर निस्कन नसक्दा पनि चिन्ता बढेको छ ।

कर्जा पूँजी निक्षेप अनुपात अर्थात सीसीडी खुम्चिएका बैंकहरुले अर्को बैंकबाट निक्षेप तान्न थाल्दा ब्याजदर बढाएर आफुसँग भएका संस्थागत निक्षेपहरुलाई जोगाईराख्ने चलाखी गरेका छन् ।

एक संस्थागत लगानीकर्ताले भने, बाणिज्य बैंकले कल एकाउन्टको ब्याज दर सात प्रतिशत कायम गरिसकेका छन् । निक्षेप बाहिरिन नदिन बैंकहरुले रणनीति कार्यान्वयन शुरु भईसकेको छ ।

निक्षेप तानातानको कारणले बैंकरहरुले यसअघि गरेको मुद्धती निक्षेपको साढे १० प्रतिशत ब्याज दरको भद्र सहमति पनि तोडिने चिन्ता ब्यक्त हुन थालेको छ । तर फेरि पुरानै भद्रगोल अबस्थामा पुग्ने हो भने मुद्धती निक्षेपको ब्याज दर १२ प्रतिशत माथि जाने संभावना रहेको औल्याईएको छ ।

बाणिज्य बैंकले निक्षेप तान्ने प्रतिस्पर्धा शुरु गर्दा बिकास बैंक र फाईनान्सहरुले १२ प्रतिशत हाराहारीको ब्याज दरमा मुद्धती निक्षेप उठाउने अभ्यास गर्न थालेका छन् ।

चाड पर्बका कारणले भित्रिने विप्रेषणमा बृद्धि र सरकारी खर्च बढ्ने कुराले आधार दिन सकेन भने फेरि गत बर्षको जस्तै तरलता संकट आउनसक्ने चिन्ताले बैंकरहरु आँत्तिएका हुन्सक्छन् र यस्तो बेलामा निक्षेप तानातान गरेर कर्जा बिस्तार गर्नु भन्दा धैर्यताको आबश्यकता खट्किएको छ । ब्याज दर नियन्त्रणमा राष्ट्र बैंकले अपनाएको रणनीति असफल भएको हो भने, बेग्लै कुरा नत्र आँत्तिनुपर्ने अबस्था छैन् । दशैपछि बित्तीय प्रणालीमा अरु पर्याप्त तरलता हुने दावी गर्नेहरुको कुरा पनि पर्खेर हेर्नुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here